राजनीति

बैतडीमा मतगणना जारी

By खबरहब

November 21, 2022

बैतडी– प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत  बैतडीमा पनि मतगणना सुरु भएको छ । मतगणना कार्य आज अपराह्न साढे ४ बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताएका छन् । 

सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना थालिएको हो । प्रतिनिधि र प्रदेशसभातर्फ प्रत्यक्षको मतगणना सुरु भएको र त्यसपछि समानुपातिकको मतगणना गरिनेछ । मतगणनास्थलमा सिसी क्यामेरा र तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

आइतबार सम्पन्न निर्वाचनमा बैतडीमा कूल मतदाताको ५२ दशमलव २२ प्रतिशत मत खसेको थियो । जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७८ हजार चार सय १६  मत खसेको थियो । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र रहेको  बैतडीमा २२ जना चुनावी मैदानमा छन् ।