काठमाडौं – जाडो बढेसँगै इन्फ्लुएन्जाको संक्रमण जोखिम बढेको छ । जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुने गर्दछ ।
दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको संक्रमण बढी हुने गर्छ । अहिलेसम्म नेपालमा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भइसकेको छ । कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरसको संक्रमण हुने भएकोले सतर्कता अपनाउनुपर्ने हुन्छ ।
इन्फ्लुएन्जाको लक्षण यो भाइरस संक्रमण भएपछि बिरामीमा ज्वरो आउँछ । खोकी लाग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने र सिगान बग्ने हुन्छ ।
यस्तै जीउ दुख्ने, मांसपेशी दुख्ने र थकान महसुस जस्ता लक्षण पनि देखा पर्दछन् । थकान महसुस हुने जस्ता लक्षण पनि यो भाइरस संक्रमण हुँदा देखा पर्ने गर्छन् ।
इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन पनि सक्छ । तर ज्वरो आउँदा यसले अझ बढी असर गर्ने हुन्छ । सबैभन्दा धेरै कमजोर गराउँछ ।
फ्लुबाट कसरी बच्ने ?
यो भाइरस संक्रमण बिरामी भएका व्यक्तिसँग भौतिक दूरी राख्ने ।
खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने ।
सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने ।
शारीरिक रुपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने ।
बेलाबेलामा सावुनपानीले हात हुने ।
बारम्बार हातले आफ्नो आँखा, नाक वा मुख नछुने ।
सम्भव भएसम्म फ्लु विरुद्धको खोप लगाउने ।
(डा.शेरबहादुर पुनसँगको कुराकानीमा अधारित)