स्टोरी

‘हिमालले ‘लत’ लगाउँछ’

By एकराज बास्तोला

January 22, 2022

काठमाडौं – मानिसलाई कुनै कुराको ‘लत’ लागेपछि के गर्छ, ऊ त्यही कुरा फेरि फेरि गर्छ रुचाउँछ। मानिसलाई फरक-फरक कुराको ‘लत’ लाग्ने गर्छ। यस्तै, सोलुखुम्बुको दुधकुण्ड-८, केरुङमा जन्मेका गेस्मान तामाङका लागि पर्वतारोहण ‘लत’ हो। उनी भन्छन्, ‘कुनै पनि हिमालको चुचुरोमा पुगेपछि बारम्बार हिमालको टुप्पोमा पुग्न मन लाग्छ र विभिन्न हिमाल चढौँचढौँ लाग्छ। सायद यहि नै ‘लत’ होला, तामाङ ठट्टा गर्दै भन्छन्, ‘हिमालले साच्चै लत लगाउँछ।’

यदि भनिरहँदा उनले आफ्नो विगत दिन पनि सम्झिन पुग्छन्। ‘सायद गाउँले दाइले भरियाको रुपमा काम नलगाइदिएको भए, हिमाल चढ्ने नै थिइन होल’, उनले भने। उनले खबरहबसँग पर्यटन क्षेत्रसँग आबद्ध भएकोमा खुसी व्यक्त गरे।

सन् २००५ मा भरियाको रूपमा यो क्षेत्रमा प्रवेश गरेका थिए। पहिलो काममा नै, उनले थोरङ ला पास (५४१६ मिटर) पार गरे। जसले उनलाई काम जारी राख्न ‘प्रेरित र उत्प्रेरित’ दुबै गरिरह्यो। म पनि गर्न सक्छु भन्ने आत्मविश्वास पनि प्रदान गर्यो।

 हिमालमा थकाई लाग्यो भनेर बस्न पाइन्न। थकानको नाममा धेरै आराम गर्दा हिमालमा घातक हुनसक्छ। हिड्ने गति नमिल्दा पनि उद्धार गर्नुपर्ने अवस्थामा पुग्न सकिन्छ।

पदयात्रा क्षेत्रमा लगातार चार वर्ष काम गरिसकेपछि उनले सन् २००९ मा अन्नपूर्ण क्षेत्रमा पर्ने सबैभन्दा लोकप्रिय आरोहण पिकमध्ये एक मानिने पिसाङ पिक (६०९१ मिटर) आरोहण गर्न सफल भए।

त्यसपछि तामाङलाई हिमालले मोह झन् जाग्यो। ‘मलाई लाग्छ कि म पर्वतारोही हुनको लागि जन्मेको छु’, उनले सन् २०१६ मा पहिलो पटक ८,००० मिटरभन्दा माथिको हिमालमा पहिलो पटक सगरमाथा आरोहण गरेको सम्झना खुसी बाँड्दै भने। पहिलो पटक सगरमाथा चढ्दै गर्दा उनी ७२ वर्षीय चिनियाँ आरोहीको सारथि बनेका थिए।

त्यसयता उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। उनले विश्वको सर्वोच्च शिखर सगरमाथा र ८ हजार मिटरभन्दा माथिका अन्य धेरै चुचुरा पनि आरोहण गर्न सफल भएका छन्।

पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेक्दा उनको खुशीको सीमा रहेन। त्यसो त उनी आफ्नो गाउँ चिम्दिङबाट सगरमाथा आरोहण गर्ने तामाङ समुदायका पहिलो व्यक्ति पनि भए। त्यसयता उनले सन् २०१७, २०१८ र २०२१ मा सगरमाथा आरोहण गरेका थिए।

मानिसले हरेस खानु हुन्न भन्ने गेस्मानबाट सिक्न पनि सकिन्छ। उनले हिमाल चढ्नकै लागि ११ वर्ष लामो समय तथा संघर्ष गर्नुपरेको थियो।

पर्यटन क्षेत्रमा पनि आफ्नालाई च्याप्ने र नयाँ प्रवेशीलाई सकभर काम नदिने नै गर्दा रहेछन्। उनी पनि पक्षवाद, नातावाद र गुटबन्दीबाट अछुतो रहेनन्। तर हुने हार दैब नतार भने झै उनले २०१६ मा काम पाइछाडे र त्यसपछि निरन्तर हिमाल चढिरहेका छन्।

उनी भन्छन्, ‘तीतो तर सत्य। नवप्रवेशीले अवसर पाउन गाह्रो छ। यो क्षेत्र नातावादले ग्रसित छ।’

सगरमाथाबाहेक उनले सन् २०१९ मा अन्नपूर्ण प्रथम (अक्सिजनबिना), कञ्चनगञ्ज, के २, चो–यू, सिसापाङ्मा र मनास्लु आरोहण गरिसकेका छन्। त्यस्तै सन् २०१७ मा पनि अक्सिजनबिना मनास्लु हिमाल आरोहण गरेका छन्।

यससँगै उनले ८ हजार मिटरको हिमाल १६ पटक सफलतापूर्वक आरोहण गरेका छन्। अब उनले तामाङ समुदायको नाम र कीर्तिको लागि १४ वटा चुचुरो आरोहण गर्ने योजना बनाएका छन्।

अक्सिजनबिना हिमाल आरोहण गर्न के कारणले उत्प्रेरित भयो भनी सोध्दा तामाङ भन्छन्, ‘अनुभवका लागि र मानिसको लागि अक्सिजनको महत्व बुझ्नको लागि हो।’

अक्सिजनबिना आरोहण गर्न सहज नभएको उनी बताउँछन्। ‘अक्सिजन बिना चढ्दा थकाई लाग्ने, भोक लाग्ने र बढी चिसो महसुस हुनेरहेछ,’ तामाङ आफ्नो अनुभव सुनाउँछन्,, ‘बोतलको अक्सिजनले तपाईंलाई न्यानो बनाउँछ र तपाईंलाई ऊर्जा दिन्छ, र तपाईंलाई भोक पनि लाग्दैन।’

सगरमाथा आरोहणका क्रममा तामाङले ग्लोबल वार्मिङ (हरित गृह प्रभाव)को असरलाई पनि नजिकबाट नियालिएका छन्। ‘मैले खुम्बु आइसफलमा केही कालो ढुङ्गाहरू देखेँ’, उनी भन्छन्।

यसैबीच, क्याम्प ४ मा छरिएको फोहोरको कथा पनि फरक छैन। ‘तपाईले खाना, पाल, चम्चा, प्लेट र आरोहणको क्रममा प्रयोग हुने प्राय चीज फेला पार्नुहुनेछ। यसले सगरमाथामा फोहोरको मात्रा देखाउँछ’, तामाङ भन्छन्। उनले हिमालमा फोहोर नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न सुझाव दिए।

‘सरकारको उदासिनता हिमालमा फोहोर जम्मा हुनुको एउटा कारण हो। कसैलाई चिन्ता छैन,’ उनले थपे। हिमाल आरोहण क्षेत्रमा शेर्पा, आरोही वा उच्च उचाइका भरियालाई प्रोत्साहन गर्न सरकारले नेपाली आरोहीको बीमाको रकम बढाउनु पर्ने उनको सुझाव छ।

हाल आरोहण कम्पनीले पाँच लाख बराबरको उपचार बीमा र १५ लाखको मृत्यु बीमा सुनिश्चित गर्छन्, जुन अत्यन्तै न्यून हो। त्यसैगरी आरोहीका छोराछोरीलाई निःशुल्क विद्यालय र कलेज शिक्षाको व्यवस्था गरिदिए आरोहीलाई थप प्रोत्साहन हुने हुनेको विश्वास छ। आरोहीका लागि बीमा रकम वृद्धि भएमा यस क्षेत्रमा नेपालीको संख्या बढ्ने उनको तर्क थियो। नेपाली जस्ता आरोही अरु कोही हुनै सक्दैनन्, उनले भने।

सामान्यतया, उच्च उचाइका भरियाले आफूले बोक्ने सामानको तौलअनुसार दुई लाख ५० हजारदेखि पाँच लाख सम्म पाउँछन्। भरिया र आरोही हुनुका साथै उनले हिमाल आरोहणका क्रममा धेरै आरोहीको उद्धार पनि गरेका छन्। सन् २०२१ मा मात्र उनले अन्नपूर्ण हिमालबाट तीन र धौलागिरी हिमालबाट दुई जनाको उद्धार गरेका थिए।

उद्धार गर्नुपर्ने अधिकांश मानिस लापरवाहीका कारण समस्यामा पर्ने गरेको उनको अनुभव छ। ‘आरोहीलाई उचित तालिम चाहिन्छ’, उनी भन्छन्,‘थकानको नाममा धेरै आराम गर्दा हिमालमा घातक हुनसक्छ।’ थोरै हिड्ने र धेरै बस्ने गर्ने गर्नाले, हिडाईको गति नमिल्दा पनि अन्ततः उद्धार गर्नुपर्ने हुन्छ। हिमालमा थकाई लाग्यो भनेर बस्न पाइन्न। हिमाल आरोहणसँगै उनी सामाजिक संस्था लायन्स क्लब अफ सेभ हिमालयज, किवानिस क्लब अफ पाटन, शिसाखोला तामाङ समाजलगायत अन्य संघ संस्थामा पनि आबद्ध छन्।