समाचार

वन अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

By खबरहब

February 22, 2022

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जिल्ला वन कार्यालयका तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वृक्षरोपण गर्दा रकम हिनामिना गरेको आरोपमा वन अधिकृसहित चारजनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले मुद्दा दायर गरेको अन्यमा तत्कालीन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल, सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल सिम्रौनगढ–११ का अध्यक्ष मदनप्रसाद जैसवार रहेका छन् ।

सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय बाराले आर्थिक वर्ष २०७३र०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ नगरपालिकास्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम ३ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको पुष्टी हुन आएको अख्तियारले जनाएको छ ।