मुख्य समाचार

देउवालाई ओलीको जवाफ– ‘आफूहरूका माग पूरा नभएसम्म कुनै संसदीय प्रक्रियामा जाँदैनौँ’

By खबरहब

February 22, 2022

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

आज साँझ प्रधानमन्त्री देउवा र ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि ओलीसमक्ष आग्रह गरेका थिए ।

भेटमा अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरू राखेर सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने स्पष्ट पारेका थिए ।

भेटवार्ता नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

प्रतिनिधिसभामा एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव पेश भएपछि यसमा सहमति जुटाउनका लागि प्रधानमन्त्री देउवा प्रयासरत छन् । एमसीसीको विषयमा गठबन्धनकै दलहरूले साथ छाडेपछि प्रधानमन्त्री देउवा ओलीलाई सहमतिमा ल्याउन थप सक्रियता देखाएका हुन् ।