राजनीति

वीर अस्पतालमा उपचारत पूर्वजनमुक्ति सेनाका कमान्डरलाई भेटे प्रचण्डले

By खबरहब

March 22, 2022

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचारत पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डरलाई भेटेका छन् ।

काभ्रे महाभारत गाउँपालिका-६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेटेर प्रचण्डले स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । त्यसक्रममा प्रचण्डले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल गर्ने आश्वासन दिएका छन् । साथै ७ वर्षका बालकको पढाई र रानाकी श्रीमतीको रोजगारीको लागि पहल गर्ने पनि बताएका छन् ।

मकवानपुरको झुरझुरेमा घाइते भएका राना शान्ति प्रक्रियापछि वाइसीएलको जिम्मेवारी रही काम गर्दै आएका थिए । टाउकोमा लागेको चोट बल्झिएपछि उनको खुट्टामा इन्फेक्सन देखिएको र दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।

अहिले उनको परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकको सहयोगले रानाको उपचार भइरहेको छ ।