फाइल तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

रुसमा फेसबुकको माउ कम्पनी मेटा ‘अतिवादी गतिविधि’ का लागि दोषी ठहर

By खबरहब

March 22, 2022

काठमाडौं– रुसको एक अदालतले फेसबुकको माउ कम्पनी मेटालाई ‘अतिवादी गतिविधि’ मा दोषी रहेको ठहर गरेको छ । राजधानी मस्कोस्थित त्र्भेस्कोयी जिल्ला अदालतले प्रेस विज्ञप्ति जारी गर्दै रुसमा मेटाको गतिविधिलाई बन्द गर्न माग गर्दै रुसी अभियोजनकर्ताहरुले दायर गरेको मुद्दामाथि सुनवाई गर्दै यस्तो ठहर गरेको हो ।

यसअघि रुसी अभियोजनकर्ताहरुले रुसविरुद्ध घृणा फैलाउने एवम् रुसी नागरिकविरुद्ध हिंसात्मक टिप्पणीलाई छुट दिने मेटाको कदम अतिवादी रहेको उल्लेख गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । यससँगै अदालतले रुसमा मेटाका सामाजिक सञ्जालमाथि लगाइएका प्रतिबन्धलाई पनि सदर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसमाथि विभेद गरेको र घृणा फैलाएको भन्दै त्यहाँ यसअघि नै मेटाका सामाजिक सञ्जालहरु फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाइएको छ । यद्यपि अदालतको पछिल्लो फैसलाले मेटाको अर्को सामाजिक सञ्जाल ह्वाट्सएपमा भने कुनै असर नपर्ने रोयटर्सले जनाएको छ । फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लागेपनि त्यहाँ ह्वाट्सएप भने चलिरहेको बताइएको छ ।

यस्तै, रुसको सञ्चार नियामक निकाय रोस्कोम्नाद्जोरले रुसमा सञ्चालित विदेशी इन्टरनेट कम्पनीको सूचीबाट मेटालाई हटाउने र सामाजिक सञ्जालका रुपमा फेसबुक र इन्स्टाग्रामको दर्तालाई पनि खारेज गर्ने बताएको छ ।

अदालतको फैसलाविरुद्ध उपल्लो अदालतमा पुनरावेदन गर्न सक्ने भएपनि मेटाले यसबारे केही टिप्पणी गरिसकेको छैन ।