समाचार

रुपन्देहीको तिलोत्तमा नगरले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

By खबरहब

March 22, 2022

रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको छ । मुलुककै पहिलो नगरपालिकाका रूपमा तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगर बनेको हो ।

तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पूरा गरी युनाइटेड एप्लिकेशन फाउण्डेशन अमेरिकाद्वारा अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरेको हो । यो देशभरकै नगरपालिकाहरूमा पहिलो भएको नगरपालिकाको दाबी छ ।

मंगलबार भएको समारोहमा आईएसओे सर्टिफिकेशन नेपालका म्यानेजर सुदिप शर्माले नगरप्रमुख वासुदेव घिमिरेलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

त्यस अवसरमा आईएसओे सर्टिफाइड नेपालका म्यानेजर शर्माले गुणस्तर मापदण्ड पूरा गरी नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट प्रमाणपत्र प्रदान गरिएको बताए ।

समारोहमा नगर प्रमुख घिमिरेले सिंगो नगरवासी, जनप्रतिनिधि र कर्मचारीको मेहनत र परिश्रमले नगरपालिकाले यो सफलता हासिल गरेको बताए ।

नगरप्रमुख घिमिरेले नगरपालिकाले विभिन्न मापदण्डमा रहेका सूचक पूरा गर्ने लक्ष्यसहित अघि बढेर समयमै कार्य सम्पन्न गरी देशमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको बताए ।

उनले तीन वर्षसम्म म्याद रहने यो गुणस्तरलाई दिगोपन दिन सबै कर्मचारी जनप्रतिनिधि तथा नगरवासीहरूले समेत यसको गरिमा बचाई राख्नुपर्ने बताए ।

कार्यक्रममामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवीलगायत सहभागी थिए ।

नगरपालिकाले आईएसओ प्रमाणीकरणका लागि आवश्यक ३० सूचकमध्ये २४ वटामा उत्तीर्ण भएको थियो ।