तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

पोल्याण्डप्रति रुसी पूर्व राष्ट्रपति मेद्भदेभको क्रुद्ध टिप्पणी

By खबरहब

March 22, 2022

काठमाडौं– रुसका पूर्व राष्ट्रपति दिमित्री मेद्भदेभले रुससँग आर्थिक सम्बन्ध तोड्ने पोल्याण्डको निर्णयविरुद्ध क्रुद्ध टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल टेलिग्राममार्फत् विज्ञप्ति जारी गर्दै उनले पोल्याण्ड अमेरिकाको कठपुतली बनेको समेत आरोप लगाए ।

हाल रुसी सुरक्षा परिषद्को उपाध्यक्ष समेत रहेका मेद्भदेभले अमेरिकी राष्ट्रपति जो बाइडनले ‘वृद्ध पागलपन’ को ‘स्पष्ट लक्षण’ देखाएको समेत उल्लेख गरेका छन् ।

पोल्याण्डका ‘तुच्छ राजनीतिज्ञ’ र ‘वृद्ध पागलपनको स्पष्ट लक्षण देखाउने महासागर पारीका कठपुतली नचाउने’ को रुसप्रति घृणाका कारण पोलिश नागरिकको हित ‘बलिदान भएको’ उनको भनाइ छ ।

उनले लेखेका छन्– ‘रुसी ग्यास, कोइला र तेल नकिन्ने, नोर्ड स्ट्रिम २ पाइपलाइनको विरोध गर्ने निर्णयले यो मुलुकको अर्थतन्त्रमा गम्भीर हाली पुर्‍याएको छ । अब यो अझ खराब बन्दै जानेछ ।’

पोलिश प्रोपागाण्डाले रुसको खेदो खन्ने गरेको र यसले अत्यन्त ‘अशिष्ट, अभद्र र तीक्ष्ण’ शैलीमा रुसको निन्दा गर्ने गरेको मेद्भेदेभको भनाइ छ ।

४ सय वर्षअघि पोलिश अधिनस्थीहरुलाई मस्कोबाट लखेटेको स्मरण गर्दै उनले धेरै शताब्दीको आन्तरिक झगडा, भ्रष्टाचार, आर्थिक खराबी र हारेका युद्धको परिणामका कारण पोल्याण्डको यो हविगत भएको समेत टिप्पणी गरे ।

युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता पोल्याण्डको भ्रमण गर्न लागेका बेला रुसी पूर्व राष्ट्रपतिको यस्तो क्रुद्ध टिप्पणी सार्वजनिक भएको हो ।