अन्तर्राष्ट्रिय

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

By खबरहब

March 22, 2022

अडियो सुन्नुहोस्ः

रुसी आक्रमणमा ८ जनाको मृत्यु रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा शक्तिशाली बिस्फोट गराउँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । विस्फोटमा केही घाइते भएका छन् । रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले विस्फोट गराएका हुन् । विस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरूमा समेत क्षति भएको थियो ।

विस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो । आगो निभाउन ६३ अग्नि नियन्त्रकहरू परिचालन गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरूलाई निशाना बनाएको छ । रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ । २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन् ।

किभनजिकैको शहर रुसको नियन्त्रणबाट फिर्ता युक्रेनी फौजले राजधानी किभनजिकैको रणनीतिक रूपमा महत्वपूर्ण शहरलाई रुसी फौजको नियन्त्रणबाट फिर्ता लिएको दाबी गरेका छन् । युक्रेनी रक्षा मन्त्रालयले रुसी सेनाको कब्जाबाट किभनजिकैको मकारिभ शहरलाई फिर्ता गर्न सफल भएको दाबी गरेका हुन् ।

मकारिभ शहरलाई रुसी सेनाबाट फिर्ता लिएसँगै किभलाई उत्तरपश्चिमी दिशाबाट घेराबन्दी गर्ने रुसी योजना विफल भएको समेत मन्त्रालयले जनाएको छ । यद्यपि इरपिन, बुचा, होस्तोमेलजस्ता किभ नजिकका अन्य शहरमा भने रुसी फौजले आक्रमण गरिरहेको जनाइएको छ ।

राजधानी नियन्त्रण गर्ने रणनीतिक योजना सफल पार्न रुसी फौजले किभमा भारी गोलाबारी र सैनिक आक्रमणलाई निरन्तरता दिइरहेको छ । यसअघि आइतबार किभको एक किनमेल केन्द्रमा रुसी फौजले गोलाबारी गर्दा ८ जनाको मृत्यु भएको थियो ।

किभमा अझै पनि रुसी फौजले गोलाबारी र हवाई आक्रमणलाई तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीयवासीले खिचेर सामाजिक सञ्जालमा शेयर गरेका तस्बिर र भिडियोहरूमा किभका विभिन्न स्थानबाट धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्छ ।

उत्तराखण्डमा धामी फेरि मुख्यमन्त्री बन्ने नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा पुष्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन् । चुनाव पराजयपछि पनि उनी उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेका हुन् । मार्चको दोस्रो साता सार्वजनिक भएको विधानसभा निर्वाचनमा धामी कंग्रेसका उम्मेदवारसँग पराजित भएका थिए ।

उनी राज्यको भाजपा विधायक दलको नेतामा निर्वाचित भएपछि उनी फेरि उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेका हुन् । उनले लगातार दोस्रो कार्यकालको लागि भाजपालाई जीत दिलाएकोमा गरेकोमा राज्यका जनतालाई धन्यवाद दिएका छन् ।

‘पुष्कर सिंह धामी विधायक दलको नेतामा निर्वाचित भएका छन् । उनको नेतृत्वमा उत्तराखण्डले तीव्र प्रगति गर्नेछ,’ रक्षामन्त्री राजनाथ सिंहले भने । आगामी १०वर्षमा उत्तराखण्डलाई अग्रणी राज्य बनाइने उनले बताए ।

उनले बुधबार मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतीय संविधानअनुसार सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मुख्यमन्त्री हुन पाउने व्यवस्था छ । धामीका लागि सिट खाली गर्न भाजपाका सांसदहरू इच्छुक रहेको बताइएको छ ।

७० सिट भएको उत्तराखण्डको विधानसभामा भाजपा ४७ सिटमा विजयी भएको थियो । विजयसँगै भाजपाले उत्तराखण्डमा लगातार दोस्रो पटक सरकार गठन गर्न लागेको हो । कंग्रेस उम्मेदवार भुवन चन्द्र काप्रीसँग ६ हजार ५७९ मतअन्तरले पराजित भएपछि ११ मार्चमा धामीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

रुसी पत्रकारले नोबेल पुरस्कार लिलाम गर्ने गत वर्ष नोबेल शान्ति पुरस्कार पाएका रुसी पत्रकार दिमित्री मुरातोभले युक्रेनी शरणार्थीका लागि सहयोग जुटाउन पदक लिलामी गर्ने घोषणा गरेका छन् । उनले पदक लिलामीको सम्भावनाका लागि लिलामघर पनि खोजिरहेको समाचार संस्था एपीले जनाएको छ ।

नोभाया गजेटा अखबारमा लेख छाप्दै उनले मानिसहरूलाई ‘शरणार्थी, घाइते र बालबालिकासँग आवश्यक वस्तुहरू बाँड्न’ समेत आह्वान गरेको बताइएको छ । गत वर्ष नोबेल शान्ति पुरस्कार जितेका उनले पुरस्कारस्वरूप प्राप्त नगद रुसमा स्वतन्त्र मिडियाको प्रोत्साहनका लागि र स्वास्थ्य समस्या भएका मानिसहरूका लागि खर्च गर्ने घोषणा गरेका थिए ।

नोभाया गजेटा अखबारका सम्पादक समेत रहेका उनलाई गत वर्ष फिलिपिन्सकी अर्की पत्रकार मारिया रेसासँगै संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

रुसमाथि दबाब बढाइने अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले युक्रेनविरुद्धको आक्रमण रोक्न रुसमाथि दबाब बढाउने भएका छन् । बेलायती सरकारद्वारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटालीले रुसलाई आक्रमण रोक्न दबाब बढाउने निर्णय गरेका हुन ।

युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ । बैठकमा सहभागी नेताहरूले युक्रेन सङ्कटप्रति चिन्ता व्यक्त गर्दै रुसविरुद्ध अब चर्को दबाब दिनु पर्ने निष्कर्ष निकालेको बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ ।

उनीहरूले आ–आफ्नो देशको तर्फबाट कूटनीतिक पहल पनि गर्ने र संयुक्त प्रयासलाई पनि निरन्तरता दिने सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेपछि समस्या समाधानका लागि पटक पटक वार्ता भएपनि सफलता हासिल गर्न सफल भएका छैनन् ।

पोल्याण्डप्रति रुसी पूर्वराष्ट्रपतिको क्रुद्ध टिप्पणी रुसका पूर्व राष्ट्रपति दिमित्री मेद्भदेभले रुससँग आर्थिक सम्बन्ध तोड्ने पोल्याण्डको निर्णयविरुद्ध क्रुद्ध टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल टेलिग्राममार्फत् विज्ञप्ति जारी गर्दै उनले पोल्याण्ड अमेरिकाको कठपुतली बनेकोसमेत आरोप लगाए ।

हाल रुसी सुरक्षा परिषद्को उपाध्यक्ष समेत रहेका मेद्भदेभले अमेरिकी राष्ट्रपति जो बाइडनले ‘वृद्ध पागलपन’ को ‘स्पष्ट लक्षण’ देखाएकोसमेत उल्लेख गरेका छन् ।

पोल्याण्डका ‘तुच्छ राजनीतिज्ञ’ र ‘वृद्ध पागलपनको स्पष्ट लक्षण देखाउने महासागर पारीका कठपुतली नचाउने’ को रुसप्रति घृणाका कारण पोलिश नागरिकको हित ‘बलिदान भएको’ उनको भनाइ छ ।

उनले लेखेका छन्– ‘रुसी ग्याँस, कोइला र तेल नकिन्ने, नोर्ड स्ट्रिम २ पाइपलाइनको विरोध गर्ने निर्णयले यो मुलुकको अर्थतन्त्रमा गम्भीर हाली पु¥याएको छ । अब यो अझ खराब बन्दै जानेछ ।’

पोलिश प्रोपागाण्डाले रुसको खेदो खन्ने गरेको र यसले अत्यन्त ‘अशिष्ट, अभद्र र तीक्ष्ण’ शैलीमा रुसको निन्दा गर्ने गरेको मेद्भेदेभको भनाइ छ । ४ सय वर्षअघि पोलिश अधिनस्थीहरूलाई मस्कोबाट लखेटेको स्मरण गर्दै उनले धेरै शताब्दीको आन्तरिक झगडा, भ्रष्टाचार, आर्थिक खराबी र हारेका युद्धको परिणामका कारण पोल्याण्डको यो हविगत भएको समेत टिप्पणी गरे ।

युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता पोल्याण्डको भ्रमण गर्न लागेका बेला रुसी पूर्व राष्ट्रपतिको यस्तो क्रुद्ध टिप्पणी सार्वजनिक भएको हो ।

जेलेन्स्कीको यस्तो भनाइ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि सम्झौता गर्न आफू तयार रहेको बताउँदै रुसी समकक्षी भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ताका लागि पुनः आह्वान गरेका छन् । उनले मुलुकको पूर्वमा रहेका भूभागका विषयमा बहस गर्न सकिने बताउँदै रुसी सेना फिर्ता भएको खण्डमा युक्रेन नेटोमा सहभागी नहुने प्रतिबद्धता जनाउन समेत तयार रहेको बताए ।

‘रुसका राष्ट्रपतिसँगको पहिलो वार्तामै म यी विषय उठाउन तयार छु ।’ युक्रेनी टेलिभिजन च्यानलमा अन्तरवार्ता दिँदै उनले भने । ‘यो सबैले सम्झौता गर्ने विषय हो ः पश्चिमा मुलुकहरूका लागि जसलाई नेटोका विषयमा हाम्रा लागि के गर्ने भन्ने नै थाहा छैन, यक्रेनका लागि जो सुरक्षा ग्यारेन्टी चाहन्छ र रुसका लागि जो नेटोको विस्तार चाहँदैन ।’ उनले भने । त्यस्तै, उनले पुटिनसँग युद्ध अन्त्यका लागि जस्तोसुकै प्रारुपमा पनि आफू वार्ता गर्न तयार रहेको बताए । यद्यपि वार्तामा भएका छलफल जनमत संग्रहबाट पारित हुनुपर्ने उनको भनाइ छ ।

अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिबन्ध लगाइने घोषणा गरेको हो । ‘संयुक्त राज्य अमेरिका जनगणतन्त्र चीनका अधिकारीहरूले जोखिममा परेका मानिसहरको पक्षमा बोल्ने अमेरिकी नागरिक र विदेशमा शरण लिन चाहनेसमेत जातीय र धार्मिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई तर्साउने, हरण गर्ने, सताउने र निगरानी गर्ने प्रयासहरूको निन्दा गर्दछ ।’ चीनलाई उसको आधिकारिक नामबाट सम्बोधन गर्दै विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ, ‘हामी विश्वभर मानव अधिकारको रक्षाका लागि प्रतिबद्ध छौँ र जवाफदेहितालाई प्रोत्साहन गर्न सबै कूटनीतिक एवम् आर्थिक कदम चाल्नेछौँ ।’

विदेश मन्त्रालयले यस्ता किसिमका चिनियाँ अधिकारीमाथि भिसा प्रतिबन्ध लगाइने जनाएको छ । विदेश मन्त्रालयले उइग्युर अल्पसङ्ख्यक मुसलमान विरुद्धको दमन रोक्न समेत आह्वान गरेको छ ।

यद्यपि विदेश मन्त्रालयले प्रतिबन्ध लगाएको भनिएका मानिसहरूको पहिचान भने खुलाएको छैन । ‘अमेरिकी कानून अनुसार हरेक भिसा अभिलेख गोप्य राखिन्छन् र यसबारे हामी विस्तृत विवरण दिन सक्दनौं ।’ विदेश मन्त्रालयको भनाइ छ ।

पुटिन भित्तामा पुगेको बाइडेनको टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन आक्रमणका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘भित्तामा पुगेको’ टिप्पणी गरेका छन् । ह्वाइट हाउसमा साइबर सुरक्षाका विषयमा भएको गोलमेच बैठकपछि आयोजित कार्यक्रममा उनले युक्रेन आक्रमणका कारण भित्तामा पुगेपछि पुटिनले युक्रेनमा घातक हतियारको प्रयोग बढाइरहेको समेत बताए ।

रुसले हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि समेत गरे । पुटिनतर्फ लक्षित गर्दै बाइडेनले भने, ‘उनी जति भित्तामा पुग्छन्, उति नै घातक हमला गर्नेछन् ।’ उनले रुसले युक्रेनमा रासायनिक हतियार पनि प्रयोग गर्नसक्ने आशंका व्यक्त गरे ।

युक्रेनी फौजले आक्रमणकारी रुसी सेनालाई ध्वस्त पारेको दाबी गर्दै बाइडेनले युक्रेन आक्रमणमा सुस्त भएका कारण पुटिनको व्यग्रता बढ्दै गइरहेको समेत बताए ।

अमेरिकाले लगाएको प्रतिबन्धको बदला लिन रुसले साइबर आक्रमण गर्नसक्ने भन्दै यसका लागि तयार रहन समेत आह्वान गरे । ‘मेरो विचारमा उनले साइबर उपकरण्को प्रयोग गर्नेछन् – साइबर आक्रमण ।’ उनले भने, ‘उनीहरूसँग निकै परिष्कृत साइबर क्षमता छ ।’

रुसी अदालतमा मेटा अतिवादी ठहर

रुसको एक अदालतले फेसबुकको माउ कम्पनी मेटालाई ‘अतिवादी गतिविधि’ मा दोषी रहेको ठहर गरेको छ । राजधानी मस्कोस्थित त्र्भेस्कोयी जिल्ला अदालतले प्रेस विज्ञप्ति जारी गर्दै रुसमा मेटाको गतिविधिलाई बन्द गर्न माग गर्दै रुसी अभियोजनकर्ताहरूले दायर गरेको मुद्दामाथि सुनवाई गर्दै यस्तो ठहर गरेको हो ।

यसअघि रुसी अभियोजनकर्ताहरूले रुसविरुद्ध घृणा फैलाउने एवम् रुसी नागरिकविरुद्ध हिंसात्मक टिप्पणीलाई छुट दिने मेटाको कदम अतिवादी रहेको उल्लेख गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । यससँगै अदालतले रुसमा मेटाका सामाजिक सञ्जालमाथि लगाइएका प्रतिबन्धलाई पनि सदर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसमाथि विभेद गरेको र घृणा फैलाएको भन्दै त्यहाँ यसअघि नै मेटाका सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाइएको छ । यद्यपि अदालतको पछिल्लो फैसलाले मेटाको अर्को सामाजिक सञ्जाल ह्वाट्सएपमा भने कुनै असर नपर्ने रोयटर्सले जनाएको छ । फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लागेपनि त्यहाँ ह्वाट्सएप भने चलिरहेको बताइएको छ । यस्तै, रुसको सञ्चार नियामक निकाय रोस्कोम्नाद्जोरले रुसमा सञ्चालित विदेशी इन्टरनेट कम्पनीको सूचीबाट मेटालाई हटाउने र सामाजिक सञ्जालका रूपमा फेसबुक र इन्स्टाग्रामको दर्तालाई पनि खारेज गर्ने बताएको छ ।

अदालतको फैसलाविरुद्ध उपल्लो अदालतमा पुनरावेदन गर्न सक्ने भए पनि मेटाले यसबारे केही टिप्पणी गरिसकेको छैन ।