समाचार

दातृ निकायले चासो नदिए सरकारले आफै विस्तारित वीर अस्पताल बनाउनुपर्छः मन्त्री खतिवडा

By खबरहब

March 22, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले दातृ निकायले चासो नदेखाए नेपाल सरकारले नै भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माण गर्नुपर्ने बताएका छन् ।

मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमनका साथै स्थानीयसँग छलफल गर्दै दातृ निकायको बाटो कुर्दा अस्पताल निर्माण नै अन्यौल भएको भन्दै सरकारले नै निर्माण गर्नुपर्ने बताएका हुन् ।

यसका लागि छलफल गर्ने पनि उनले बताए ।

अस्पताल निर्माणका क्रममा देखिएको स्थानीयका समस्या पनि समाधान गर्ने उनको भनाइ छ ।

उनले पूर्ण रूपमा अस्पताल निर्माण नभएसम्म दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने घोषणा पनि गरे ।

कार्यक्रममा वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशनबमोजिम आफूहरू सेवा दिन तत्पर रहेको बताए ।

स्थानीयले भने अस्पताल निर्माणका लागि सहयोग गर्न तयार हुँदा पनि राज्यले चासो नदेखाएको गुनासो गरे ।

स्थानीयको अन्य समस्याका बारेमा पनि सरोकारवालाले कुनै चासो नदेखाउनु दुखद भएको उनीहरूको भनाइ थियो ।