समाचार

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)

By खबरहब

March 22, 2022

अडियो सुन्नुहोस्ः

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश २०७८ जारी राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज रेल्वे अध्यादेश जारी गरेकी हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार,मन्त्रिपरिषदको सिफारिसमा रेल्वे अध्यादेश जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उम्मेदवार हुन राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अल्पकालीन आदेश सर्वोच्च अदालतले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

आज न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आचारसंहितामा राजीनामा दिनुपर्ने व्यवस्था राख्नु पर्नाको कारणसहित लिखित जवाफ पेस गर्न पनि भनेको छ । यस्तै श्रेष्ठको एकल इजलासले चैत १३ मा दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिनुपर्ने फैसला गरेको छ ।

सरकारबाट हटाइएपछि विकास निर्माण प्रभावित भएकोे एमाले अध्यक्ष ओलीको दाबी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारबाट हटाइएपछि मुलुकको बिकास निर्माण प्रभावित भएको दावी गरेका छन् । आज काठमाडौँमा समाजवादी जनता पार्टी, अभिनेत्री करिष्मा मानन्धर लगायतलाई एमाले प्रवेश गराउदै ओलीले अदालतको परमादेशबाट एमालेलाई सरकारबाट हटाएपछि बिकास निर्माणको काम अवरुद्ध हुन पुगेको बताए ।

त्यस्तै एमाले प्रवेश गर्दै समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले १५ वर्षअघि एक्लै एमालेबाट अलग भएको भन्दै अहिले टिम ल्याएर आएको धारणा राखे । त्यस्तै अभिनेत्री करिष्मा मानन्धरले आफू कुनै सौदाबाजीबिना नितान्त कार्यकर्ताको रुपमा एमालेमा आएको बताइन् ।

व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रमअघि बढाउन निर्देशन दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उद्योग, बाणिञ्य तथा आपुर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा निर्देशन दिँदै देउवाले व्यापार घाटा घटाउनेगरी कार्यक्रम बनाउन निर्देशन दिए । उहाँले अर्थतन्त्रलाई आत्मनिर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउनेगरी अघि बढ्न पनि निर्देशनदिए ।

मुलुकलाई निकास दिनका लािग बाम एकताको खाँचो छः एमाले नेता भुसाल नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकलाई निकास दिनका लािग बाम एकताको खाँचो रहेको र यसको नेतृत्व एमालेले गर्नुपर्ने बताएका छन् । आज काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेकाले पार्टीको बिभिन्न बैठकमा आफुले वाम एकताको कुरा गरेको समेत बताए ।

उनले यसअघि नेकपामा रहेर तीन पार्टीमा बिभाजन भएको एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वैचारिक र सैद्धान्तिक समस्या नरहेको धारणा पनि राखे ।

बाहिर कमाएको पुँजी र सिकेको सिप नेपालमा सदुपयोग गर्न अर्थमन्त्रीको आग्रह अर्थमन्त्री जनार्दन शर्माले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न आह्वान गरेका छन् ।

आज काठमाडौँमा गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले बाहिरबाट सोचेजस्तो लगानी आउन नसकेको भन्दै बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउन आह्वान गरे । उनले मुलुकले एनआरएनएप्रति निकै ठूलो विश्वास राखेको धारणा राखे । त्यस्तै उनले एनआरएनएका लागि नेपालमा बैंक खाता खोल्न सहज बनाइएको भन्दै सबैले १ हजार डलर राखेर बैंक खाता खोल्न आग्रह गरे ।

दातृ निकायको बाटो कुर्दा अस्पताल निर्माण नै अन्यौल भयोः स्वास्थ्य मन्त्री खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले दातृ निकायले चासो नदेखाए नेपाल सरकारले नै भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माण गर्नुपर्ने बताएका छन् ।

मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमनका साथै स्थानीयसँग छलफल गर्दै दातृ निकायको बाटो कुर्दा अस्पताल निर्माण नै अन्यौल भएको भन्दै सरकारलै नै अस्पताल निर्माण गर्नुपर्ने र यसका लागि छलफल गर्ने बताए । अस्पताल निर्माणका क्रममा देखिएको स्थानीयको समस्या पनि समाधान गर्ने उनले बताए ।

मन्त्रिपरिषद् हेरफेर हुन सक्छः माओवादी अध्यक्ष दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताएका छन् । आज जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले अनौपचारिक रुपमा मन्त्रिपरिषद् हेरफेरको कुरा चलेको बताए ।

यस्तै उनले सांसद बैठकबाट नागरिकता विधेयक पारित हुने बताए । लामोसमयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । जसको कारण लाखौ जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकताबाट बञ्चित छन् ।

पल शाहविरुद्ध अदालतमा दोस्रो मुद्दा दर्ता अभिनेता पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा आज जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । नाबालिग गायिकाको तर्फबाट परेको जाहेरीका आधारमा शाहमाथि दोस्रो मुद्दा अदालतमा पु¥याइएको हो । तनहुँ जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।

दर्ता गरिएको अभियोग पत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानूनअनुसार १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ । यस्तै, शाहका सहयोगी कृष्ण जोशीलाई पल शाहको भन्दा आधा जेल सजायको माग अभियोग पत्रमा गरिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ४ सय ९५ पीसीआर परिक्षणका क्रममा ३५ जना र २ हजार ९९ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै आज ४ सय ८१ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६३ हजार ५ सय ९२ जना निको भएका छन् । हाल नेपालमा २ हजार ६ सय ८८ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

११ वर्षीया विद्यार्थीमाथि यौन दुव्र्यवहारको अरोपमा शिक्षक पक्राउ सोलुखुम्बुमा ११ वर्षीया छात्रालाई विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा सञ्चालित सल्यान स्टार बोर्डिङ स्कुलमा कार्यरत ४९ वर्षीय शिक्षक अमित सुब्बालाई बाल यौन दुर्व्यवहारको अरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो ।

सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत पीडित छात्राका बाबुले दिएको उजुरीका आधारमा भारतको पश्चिम बंगाल दार्जिलिङ स्थाई घर भई यस विद्यालयमा कार्यरत शिक्षकलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गराएको प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए ।

खुकुरी प्रहार गर्दा वीरगञ्जमा बाबुछोरा घाइते आफ्नै भाइले खुकुरी प्रहार गर्दा वीरगञ्ज महानगरपालिकामा बाबुछोरा घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका– २१ पटेलनगरका ४५ वर्षीय राजेन्द्र पटेल र उनका २० वर्षीय छोरा विकास पटेल घाइते भएका हुन् । खानेपानी धाराको विषयमा आज बिहान विवाद हुँदा आफ्नै भाइ कामेश्वर पटेलले उनलाई खुकुरीले हानेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने कामेश्वरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

कैलालीमा भुपेन्द्र हत्या प्रकरणमा थप २ जना पक्राउ कैलालीका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालतले धरौटीमा रिहा गरेका ३ जना पुनः पक्राउ परेका छन् । मुद्दाको पुनरावेदन हुँदा उनीहरूलाई उच्च अदालत दिपायलले पुनः पक्राउ गर्न आदेश दिएपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ वर्षीय सन्तोष भन्ने सविनजग्ग शाही, कैलालीको लम्की चुहा नगरपालिका–३ का २८ वर्षीय विकास खड्का र बर्दगोरिया गाउङँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर रहेका छन् । उच्च अदालतले गत फागुन ५ गते पुर्पक्ष गर्ने आदेश दिएअनुसार हिजो उनीहरूलाई पक्राउ गरिएको हो ।

मोरङमा कफ्र्यु खुकुलो पारिने मोरङको लेटाङमा जारी कफ्र्यु भोलिदेखि खुकुलो पार्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले कर्फ्यु खुकुलो बनाउँदै लैजाने निर्णय गरेको हो ।समितिको बैठकले भोलिदेखि अर्को आदेश नभएसम्मका लागि बिहान ६ बजेदेखि विहान १० सम्म कर्फ्यु खुला गर्ने , यस्तै बेलुकी ४ बजेदेखि ६ बजेसम्म दुई घण्टा खुलाएर रातभर लगाउने निर्णय गरेको मोरङका प्रहरी नायब उपरीक्षक डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

गत आइतबार वडा ५ खेरुवास्थित शिक्षा विकास माध्यमिक विद्यालयका यौन दुर्व्यवहार आरोपी शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उत्तेजित भीडले आक्रमण गर्दा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

एमसीसीमार्फत बनाइने रातमाटे सबस्टेसनका लागि जग्गा खाली गर्न ३५ दिने सूचना एमसीसीमार्फत बनाइने ४ सय केभी क्षमताको रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा ३५ दिनभित्र खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा यसअघि नै मुआब्जा वितरण गरी अधिग्रहण भैसकेको छ । सो जग्गा खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा जग्गाको क्षतिपूर्ति तथा पुनर्बास सहायता रकम समेत वितरण भइसकेको जनाउँदै एमसीए नेपालले मुआब्जा तथा पुनर्बास रकम बुझिसकेकाले क्षेत्र खाली गर्न आग्रह गरेको छ ।

शेयर कारोबार परिसूचक नेप्से आज दोहोरो अंकले बढ्यो शेयर कारोबार परिसूचक नेप्से आज दोहोरो अंकले बढेको छ । नेप्से आज १६ दशमलव ०४ अंकले बढेर २ हजार ६५० बिन्दुमा पुगेको हो । आज कुल ५३ लाख २९ हजार ९ सय ९३ कित्ता शेयर कुल २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १ सय ७८ रुपैयाँमा कारोबार भएको छ ।

आज इमर्जिङ नेपालको मूल्य १० प्रतिशतले बढ्को छ । राष्ट्रउत्थान लघुवित्तको ६ र नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज प्रभु इन्स्योरेन्स नेपाल टेलिकम, शिवम् सिमेन्ट, ज्योति विकास र जीवन विकास लघुवित्त क्रमशः अगाडि रहेको छ ।

सुनको भाउ फेरि १ लाख नाघ्यो सुनको भाउ फेरि प्रतितोला १ लाख नाघेको छ । एक सातासम्म १ लाखमुनि कारोबार भएको सुन आज प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ ।

सोमबारको तुलनामा आज प्रतितोला ८ सयले सुन महँगिएको हो । यसअघि फागुन २५ गते १ लाख ५ हजार ५ सय रुपैयाँसम्मको उच्च रेकर्ड बनाएको सुन त्यसयता केही घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा फेरि मूल्य बढेकाले नेपालमा पनि असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।