देश/प्रदेश

जन्तेढुंगामा एक सातादेखि टेलिफोन समस्या 

By खबरहब

May 22, 2022

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकामा टेलिफोनमा समस्या दोहोरिएको छ ।

३ जेठदेखि एनटिसी फोन नलाग्ने र लागेको बेला कुराकानी हुन नसक्ने समस्या देखिएको हो ।

गाउँपालिकाको केन्द्र चिसापानीबजारमै फोन नटिप्ने समस्या दोहोरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

जन्तेढुंगा गाउँपालिकामा पटक–पटक फोनमा समस्या आउने गरेको छ तर नेपाल टेलीकमले यसको दीर्घकालीन हल गर्न ध्यान नदिएको विष्टले बताए ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष अरुणादेबी राईकै वडा जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा समेत फोनको समस्या देखिएको छ । फोनमा देखिएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाइ हुँदा सेवाग्राही मारमा परेका छन् ।

गत चैत दोस्रो हप्ता पनि जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या देखिएको थियो ।