खेलकुद

मुम्बईसँग दिल्ली पराजित, बेंगलोर प्लेअफमा

By खबरहब

May 22, 2022

काठमाडौँ – दिल्ली क्यापिटल्सलाई मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ ।

शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुवै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो ।

योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ । पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्नेछन् ।  एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बेंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि दिल्लीले दिएको १६० रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईका इशान किशनले ४८ रन जोडे । दिल्लीका सार्दुल ठाकुर र एन्रिच नोर्कियाले २-२ विकेट लिए ।

सुरुआती ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोड्यो । दिल्लीका  रोभमान पावेलले ४३ रन जोडे । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।