देश/प्रदेश

टेष्टेडलाई चाहेनन् अर्घाखाँचीका मतदाताले  

By खबरहब

May 22, 2022

अर्घाखाँची – अर्घाखाँचीका मतदाताले टेष्टेड अनुहारलाई अस्वीकार गरेका छन् ।

६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनबाट दोहोरिएका चार जना उम्मेदवार मतदाताबाट अस्वीकृत भएका हुन् ।

गत निर्वाचनमा नेपाली कांग्रेसबाट पाणिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित अच्युत गौतम र एमालेबाट उपाध्यक्षमा निर्वाचित भई कांग्रेस प्रवेश गरेकी लक्ष्मी गौतमलाई यो पटक पराजित भए । पालिका अध्यक्षमा दोहोरिन चाहेका अच्युत र लक्ष्मीलाई एमालेका उम्मेदवार टेकराज न्यौपाने र नर्मदा पौडेलले पराजित गरेका हुन् ।

भूमिकास्थान मेयरमा एक कार्यकाल पुरा गरी एमालेबाट पुन: मेयरको दौडमा रहेका रेशम थापालाई राष्ट्रिय जनमोर्चाका झविलाल थापाले पराजित गर्दा शितगंगा नगरपालिकाका उपमेयरमा माओवादी केन्द्रबाट दोहोरिन चाहेका टिका रेश्मीलाई एमालेका तर्फबाट उम्मेदवार बनेकी टीका भाटले स्तब्ध पारिन् ।

पालिका नेतृत्वमा दोहोरिन चाहेका सबैलाई परास्त गर्दै अर्घाखाँचीमा यो पटक नयाँ अनुहार निर्वाचित भएका छन् ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।