सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का विद्यानन्द चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएका छन् ।
२६ वर्षीय चौधरी ११ सय २९ मतान्तरले विजयी भएका हुन् । उनी जिल्लाकै कान्छो पालिका प्रमुख भएका छन्। उनले दुई हजार ८९५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपालका सत्यनारायण यादवले १७ सय ६६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजयी राजुदेवीले २४ सय ७२ मत प्राप्त गरेकी छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रमिलादेवी साहले १५ सय ९५ मत प्राप्त गरिन् । गएराति अबेर सातवटै वडाको मतगणना सकिएको निर्वाचन अधिकृत सूर्यराज घिमिरेले जानकारी दिए । कुल १७ हजार ७५७ मतदाता रहेको छिन्नमस्ता गाउँपालिकामा १३ हजार ७४४ मत खसेको थियो ।
छिन्नमस्ताको वडा नम्बर १ मा वडाध्यक्षसहित माओवादी केन्द्रका ललनप्रसाद यादवको प्यानल, वडा नम्बर २ मा जनमत पार्टीका सिकेन्दर साह, वडा नम्बर ३ मा जसपाका विजय यादव, वडा नम्बर ४ मा एकीकृत समाजवादीका सूर्यनारायण यादव (गयानन्द), वडा नम्बर ५ मा एमालेका जयप्रकाश ठाकुर, वडा नम्बर ६ मा माओवादी केन्द्रका कपलेश्वर साह र वडा नम्बर ७ मा एमालेका अच्छेलाल यादव निर्वाचित भएका छन् ।