फाइल फोटो

कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताब सहयोग

By खबरहब

June 22, 2022

पोखरा – पोखराका युवा विद्यार्थीहरूले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पुराना र नयाँ किताब किनेर उनीहरूले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरूले यस्तो अभियान सुरु गरेका हुन् ।

एजुकेट नेपाल नारा दिएर उनीहरूले अभियान सुरु गरेको सदस्य देव भुजेलले जानकारी दिए । देवसँगै स्मित लामिछाने, कृष्ण पौडेल, प्रदिप भट्टराई, सन्चिता थापा, विवस रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेलले किताब संकलन अभियान थालेका छन् ।

५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई किताब र कापी संकलन गरेर पठाउन लागिएको हो । विशेषगरी कालिकोट जिल्लाका विभिन्न पालिकामा रहेका विद्यालयमा पढ्ने विद्यार्थीलाई सहयोग गर्न लागिएको भुजेलले बताए । हालसम्म संकलित पुस्तक लिएर केही विद्यार्थी कालिकोटतर्फ गएका छन् ।

‘किताब नपाएर पढ्न नसकेको समाचार हामीले सुन्यौँ,’ उनले भने, ‘हामीले आफ्नो कर्तव्य पूरा गरेका हौँ ।’ किताब र कापीसँगै कपडा र नगद रकम समेत सहयोग जुटेको उनले बताए । संकलित सामग्री ढुवानीका लागि मात्रै १ लाख रुपैयाँ लाग्ने अर्का अभियानकर्ता कृष्ण पौडेलले बताए ।