राजनीति

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनु पर्‍यो : मन्त्री बडु

By खबरहब

June 22, 2022

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे बुधबार राष्ट्रियसभा बैठकलाई जानकारी गराउँदै बडूले प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिरहेकाले नेपालमा पनि मूल्यवृद्धि गर्नुपरेको बताए। निगमलाई जेठ मसान्तसम्म करिब रु ५० अर्ब घाटा हुन गएको र इन्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने रु २२ अर्ब बक्यौता रहेको उनले जानकारी दिए।

उनले निगमको प्रचलित कानुन, नीति तथा पेट्रोलियम पदार्थको बिक्री सम्बन्धी विद्यमान नियमावली अनुरूप नै बिक्री वितरण गरिएको पनि स्पष्ट पारे। कसैलाई नाफा हुने नियतले नभई कानुन र नीतिगत रूपमा नै मूल्य निर्धारण गरी बिक्री गरिएको उनको भनाइ छ।

मन्त्री बडूले नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रणाली सहज, व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि अध्ययन गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको बताए।