जुम्ला– नेपाल अपांग महिला संघले अपांगता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न माग गरेको छ । नेपाल अपांग महिला संघ जुम्लाको बुधबार चन्दननाथ नगरपालिकामा आयोजना गरेको कार्यक्रममा यस्तो माग गरिएको हो ।
अपांगता भएका महिलाविरुद्ध हुने हिंसा न्यूनीकरणमा सबैको एकमत हुनु पर्ने अपांग महिला संघकी कर्णाली प्रदेशकी सम्पर्क व्यक्ति धनसरा शाहीले बताइन । उनले भनिन्, ‘समग्र महिला लैङ्गिक विभेदको मारमा परिरहेको अवस्थामा अपांगता भएका महिला झन् धेरै प्रकारका हिंसा, यातनाबाट पीडित हुने गरेका छन्’ । उनले अपांगता भएका महिला अवसरबाट समेत वञ्चित हुने अवस्था निर्मूल गर्न आवश्यक रहेको बताइन । यस्तै, अपांगता भएका महिला बलात्कार तथा यौन दुर्व्यवहारको शिकार हुन नदिनको सचेतना फैलाउन जरुरी रहेको उनको भनाइ छ ।
चन्दननाथ नगरपालिका महिला तथा बालकालिका शाखाका बालकल्याण अधिकारी पुष्पा थापाले महिला हिंसा न्यूनिकरणका लागि विभिन्न क्रियाकलाप भइरहेको बताइन ।उनले हिंसा न्यूनिकरणका लागि बनाएका कानुन र तिनको कार्यान्वयन बारे सबै महिला जानकार हुनुपर्ने बताइन ।
कार्यक्रममा चन्दननाथ नगरपालिका महिला तथा बालकालिका शाखाका प्रमुख माया थापा, नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, अपांग पुनर्स्थापना तथा विकास केन्द्रकी उपाध्यक्ष कमला बुढालगायतले अपांगता भएका व्यक्तिलाई सीपमुलक र आयआर्जनका कार्यक्रममा सहभागी गराउन सुझाब दिए ।