सांकेतिक तस्वीर ।

अन्तर्राष्ट्रिय

यौनजन्य अपराध बढेपछि पाकिस्तानको पञ्जाब प्रान्तमा आपतकाल घोषणा

By खबरहब

June 22, 2022

काठमाडौँ- महिला र बालबालिकामाथि हुने यौन शोषणका घटनामा तीव्र वृद्धिपछि पाकिस्तानको पञ्जाब प्रान्तले आपतकाल घोषणा गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पञ्जाबका गृहमन्त्री अत्ता तरारले यस्ता घटनामा वृद्धि हुनु समाज र सरकारी अधिकारीका लागि गम्भीर समस्या भएको बताए ।

‘पञ्जाबमा दैनिक चारदेखि पाँचवटा बलात्कारका घटनाहरू रिपोर्ट भइरहेका छन् जसका कारण सरकारले यौन उत्पीडन, दुर्व्यवहार र जबरजस्तीका घटनाहरू समाधान गर्न विशेष उपायहरू विचार गरिरहेको छ’ उनको भनाइ उद्धृत गर्दै जियो न्युजले जनाएको छ ।

‘बलात्कारका घटनालाई सम्बोधन गर्न प्रशासनले आपतकाल घोषणा गरेको छ’ उनले भने । यस विषयमा नागरिक समाज, महिला अधिकारकर्मी संगठन, शिक्षक र वकिलसँग परामर्श लिइने मन्त्रीले बताए ।

उनले अभिभावकलाई आफ्ना बालबालिकालाई सुरक्षाको महत्व सिकाउनसमेत आग्रह गरे । विभिन्न घटनाका आरोपितलाई थुनामा राखिएको र बलात्कारविरुद्धको अभियान चलाएको मन्त्री तरारले बताए ।

विद्यालयमा विद्यार्थीमाथि हुने दुर्व्यवहारबारे सचेत गराइनेसमेत उनले बताए । गृहमन्त्रीले अब अभिभावकले आफ्ना छोराछोरीलाई कसरी जोगाउने भनेर सिक्नुपर्ने बेला आएको बताए । उनले सरकारले फास्ट ट्र्याकका आधारमा डीएनए नमूनाको संख्या बढाउने बताए ।