तस्वीर- अफगानिस्तान सूचना सेवा

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुग्यो

By खबरहब

June 22, 2022

काठमाडौँ- अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ । अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका अधिकारीले मुलुकमा गएको भूकम्पका कारण ९२० जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

दक्षिणपूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तस्थित खोस्त सहरबाट ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा ९२० जनाको मृत्यु भएको अफगानिस्तानको बख्तर समाचार संस्थाले जनाएको छ ।

तालिबानका नेता हैबतुल्लाह अखुन्दजादाले भूकम्पका कारण सयौँ घरहरु ध्वस्त भएको र मृतकको संख्या बढ्नसक्ने बताएका छन् ।

तालिबान सरकारका विपद् व्यवस्थापन मन्त्री सरफुद्दिन मुस्लिमले पत्रकार सम्मेलनमार्फत् भूकम्पमा ९२० जनाको मृत्यु भएको र अरु ६ सयभन्दा धेरै घाइते भएको जानकारी दिएका हुन् । यससँगै यो भूकम्प अफगानिस्तानमा दुई दशकयताकै घातक रहेको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीर एवम् भिडियोहरुमा उद्धारकर्ता तथा खोजकर्ताहरुले भवनका भग्नावशेषबाट निकालिएका घाइतेहरुलाई स्ट्रेचरमा राखेर लगिरहेको देखिन्छ ।

स्थानीय समयअनुसार बिहान साढे १ बजेतिर गएको भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको दुर्गम क्षेत्रमा रहेकाले त्यहाँ उद्धार एवम् राहत कार्यमा समस्या उत्पन्न भएको र हेलिकोप्टर तथा अन्य उपकरणको प्रयोग गरी खोजी तथा उद्धार कार्य जारी राखिएको बताइएको छ ।

‘दुर्भाग्यवश गएराति पाक्टिका प्रान्तको चार जिल्लामा शक्तिशाली भूकम्पको महसुस गरियो, यसका कारण हाम्रा सयौँ देशवासी मारिए एवम् घाइते भए भने दर्जनौँ घरहरुमा ध्वत भए ।’ अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता बिलाल करिमीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

‘हामी सबै सहयोगी निकायहरुलाई सो क्षेत्रमा तत्काल परिचालन हुन आग्रह गर्दछौँ ।’ अफगानिस्तानमा गएको भूकम्पको धक्का छिमेकी मुलुकहरु पाकिस्तान र भारतसम्म महसुस गरिएको बीबीसीले जनाएको छ । यद्यपि भूकम्पका कारण अफगानिस्तानमा बाहेक अन्यत्र कुनै क्षतिको विवरण भने नआइसकेको बीबीसी उर्दूले जनाएको छ ।

अफगानिस्तानमा प्रायजसो भूकम्पहरु जाने गरेको बताइन्छ । पछिल्लो १० वर्षमा मात्र भूकम्पका कारण अफगानिस्तानमा ७ हजार भन्दा धेरैको मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ ।