तस्बिर: न्यायाधीश राजकुमार कोइरालाको फेसबुकबाट

ब्रेकिङ स्टोरी

न्यायाधीश कोइरालालाई निलम्बन गरिँदै

By खबरहब

June 22, 2022

काठमाडौँ- न्याय परिषद्ले न्यायाधीश-अधिवक्ता मोलमोलाइसम्बन्धी अडिओ प्रकरण छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।

बुधवार बसेको न्याय परिषद् बैठकले परिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहने गरी तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

न्यायाधीश कोइरालामाथि न्याय परिषद् ऐनको दफा १९ बमोजिम छानबिनका लागि गठित जाँचबुझ समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन समय सीमा तोकिएको न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बताए ।

घुस लेनदेनको डिलमा मुछिएका न्यायाधीश कोइरालालाई आजबाट नै कामबाट अलग गरिएको छ । गठित जाँचबुझ समितिको विषयमा नेपाल राजपत्रमा प्रकाशनका लागि भोलि (बिहीबार) पठाइने कार्कीले बताए ।

नेपाल राजपत्रमा उक्त सूचना प्रकाशित हुने बित्तिकै न्यायाधीश कोइराला स्वतः निलम्बनमा पर्नेछन् ।