समाचार

नेमकिपाका अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

By खबरहब

June 22, 2022

भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईंले जानकारी दिए ।

विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उनका दुई पुत्र रहेको गोसाईंले जानकारी दिए ।

लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइनन्। उनको अन्तिम संस्कार भने विदेशमा रहेका पुत्र नेपाल आइपुगेपछि गरिने बुझिएको छ ।