फाइल फोटो

खेलकुद

राष्ट्रिय टिम बाहिर रहेका दश खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय

By खबरहब

June 22, 2022

काठमाडौं- नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्बाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षकसंग विवादपछि टिम बाहिर रहेका दस खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय गरेको छ ।

बुधबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको एन्फाको यस कार्यसमिति बैठकले खेलाडीलाई टिममा सहभागी गराउने तथा प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिएको छ । “राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवाद पछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीहरुको हकमा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरियो । र प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो” विज्ञप्तिमा भनिएको छ   ।

गत महिना मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसंगको विवादका कारण कप्तान किरण कुमार लिम्बू, रोहित चन्द लगायत १० खेलाडी टिम बाहिर छन् । यस्तै,  महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीसँगै विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेको हो ।सोमबार भएको एन्फाको चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

यता, संघले ढाकामा हुने साफको चुनावमा उपाध्यक्ष पदमा सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय गरेको हो । “यही जुलाई २ बङ्गलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय पारित गरियो ।”