ब्रेकिङ स्टोरी

ओलीबाहेक वाम एकताको रिहर्सल !

By खबरहब

July 22, 2022

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी शैलीका कारण राष्ट्रिय राजनीतिबाट किनारा लागेका वामदेव गौतमको पहलमा फेरि वाम एकताको रिहर्सल भएको छ । मंगलबार सिंहदरबारमा तत्कालीन माओवादी र एमाले मिलेर बनेको नेकपाका बहुमत सचिवालय सदस्य रहेका नेताहरुबीच ओलीबाहेकको वाम एकताको रिहर्सल भएको हो ।

यसको प्रस्तावक तथा योजनाकार वामदेव गौतम नै हुन् । उनी पछिल्लो समय फेरि माओवादी र एमाले मिलाउन लागिपरेका छन् । भारत भ्रमणबाट फर्केपछि प्रचण्डले पनि वाम एकताको रिहर्सलमा ‘ग्रीन सिग्नल’ दिएपछि वामदेवसहितका नेताहरु मंगलबार सिंहदरबारमा भेटेर छलफल गरेका हुन् ।

आफ्नै संसदीय दलको कार्यालयमा प्रचण्डले मंगलबार वामदेव, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग भेटवार्ता र छलफल गरे । छलफलमा सहभागी एक नेताका अनुसार प्रचण्ड लगायतका नेताहरुबीच चुनावसम्म ओलीबाहेकको वाम एकता गर्ने प्रयासमा छन् ।

कांग्रेससँग प्याकेजमा सहमति र बलियो बार्गेनिङ

कांग्रेससँग एक्ला एक्लै छलफल गर्दा सिट बाँडफाँटमा समस्या हुने भन्दै ‘प्याकेजमै सहमति खोज्न’ मंगलबार सिंहदरबारस्थित प्रचण्डको कार्यकक्षमा छलफल भएको ती नेताको भनाई छ । छलफलमा वामदेवले भने पुरानै योजना सुनाएका थिए ।

उनले अहिले पनि कांग्रेससँगभन्दा एमालेसँग मिल्दा कार्यकर्तालाई न्याय हुने तर्क प्रस्तुत गरेका थिए । जसमा नारायणकाजीले सही थापेका थिए । तर सो कुरामा माधव नेपाल र झलनाथ खनालले चासो दिएनन् ।

ओलीलाई ‘साइजमा राख्न’ कांग्रेससँगको गठबन्धन गरेरै चुनावमा जानुपर्ने माधव नेपालको भनाई थियो । स्थानीय तहको चुनावमा कांग्रेसले धोका दिए पनि पहिले नै स्पष्ट सम्झौता हुनुपर्ने नेपालको भनाई छ ।

भोलिका दिनमा कांग्रेसले सहमति पालना नगरे ओलीसँग पनि छलफल खुला राख्ने गरी वाम एकताको रिहर्सल सिंहदरबारमा भएको छ । जसले कांग्रेससँग बार्गेनिङ गरेर बढीभन्दा बढी सिट लिन सकियोस् र आफ्नो नेता तथा कार्यकर्ताले पनि चुनाव जित्ने वातावरण बनोस् भन्ने प्रचण्डसहितका शीर्ष नेताहरूको चाहना छ ।

चुनाव जित्ने हतियार र कांग्रेस विकल्पको खोजी

वाम एकतामा माओवादी र समाजवादीसहित बाबुराम भट्टराईदेखि उपेन्द्र यादव र जनमोर्चालाई पनि समेट्ने प्रयास छ । तर यसमा बाबुरामबाहेक अरूले समर्थन जनाइसकेका छैनन् । यस्तोमा नेता र कार्यकर्तालाई पनि खुसी राख्न वाम एकताको प्रस्ताव अघि सारेर छलफलै गरिएको नेताहरूको भनाई छ ।

‘पहिले नेकपा हुँदा पनि छलफल हुन्थ्यो, अहिले नेकपा नहुँदा ओली नभएका मात्रै हुन’ भेटमा सहभागी एक नेताको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर सारमा कांग्रेससँग बलियो गरी बार्गेनिङ गर्ने र ओलीबाहेक पनि वाम एकता गर्न सकिन्छ भन्ने निष्कर्षमा कुरा भएको छ । बाँकी नेताहरूको छलफलले बताउला ।’

सिंहदरबार बैठकको छलफलका विषयमा भने नेताहरूको फरक धारणा छ । वामदेवले सो छलफलबारे मुख नखोल्दा प्रचण्डले गठबन्धनलाई बलियो बनाउने गरी कुरा भएको टिप्पणी गरेका छन् । तर उनले भारत भ्रमणबारे मौनता साँधेका थिए ।

यसलाई भोलिका दिनमा निरन्तरता दिने नेताहरूको तयारी छ । जसको नाम वाम एकता होइन, वामदेव र बाबुरामसहितको ‘समाजवादी केन्द्र निर्माण’ भनेर राख्न खोजिएको छ ।

सिंहदरबार बैठकमा वामदेवलाई पनि चुनावमा स्पेश दिने तयारी छ । त्यसका लागि नेकपा एकिकृत समाजवादीले थप छलफल गर्नेछ । कांग्रेससँग सिटमा कुरा नमिले एमालेसँगको वार्तालाई पनि अघि बढाउने मनसाय नेताहरूको छ ।

एक समय एमसीसी पास गर्न कांग्रेसले माओवादीलाई ‘वायस’ गरेर एमालेसँग लगातार छलफल गरेको थियो । अहिले माओवादी पनि कांग्रेसलाई त्यसैगरी झस्काउन एमालेसँग छलफल अघि बढाउने तयारीमा छ । जसमा नारायणकाजी लगायतका नेताहरुले छलफल सुरु गरिसकेका छन् ।

भोलिको सत्ताका लागि वाम रिहर्सल

वाम एकताका लागि छलफल सुरु गर्दा चुनाव र भोलिका दिन सत्ता साझेदारी गर्न सजिलो होस् भन्ने नेताहरूको चाहना छ । राजनीतिमा स्थायी शत्रु हुँदैन भनेजस्तै गरी अहिले प्रचण्ड र एमाले अध्यक्ष ओलीको व्यक्तिगत टकरावका कारण वाम एकता ओझेलमा छ ।

दोस्रो तहका नेताहरू एकले अर्कोसँग माफी मागेर वाम एकता अघि बढाउनुपर्नेमा जोड दिइरहेका छन् । तर यति बेला ओलीभन्दा देउवा आफ्नाका लागि बढी उपयोगी भएको निष्कर्षमा प्रचण्ड छन् । सोही कारण ओलीले आफूलाई गरेको अपमान उनैका लागि महँगो पार्न प्रचण्ड लागिपरेका छन् ।

विगतमा सत्ता र बहुमतको दम्भको बेला चालेका कदमले ओलीलाई पनि व्यक्तिगत र पार्टीगत क्षति धेरै भएको छ । यसको महसुस पनि ओलीलाई भएको छ । केही समय पहिले एमसीसी पास गर्ने बेलामा ओलीसँग प्रचण्ड र कांग्रेस सभापति देउवाले बारम्बार भेटेका थिए ।

भेटेर गरिएका सबै छलफलमा एक अर्कासँग सहकार्य सम्भावना बाँकी रहेको बताएका थिए । तर त्यो निर्णायक बिन्दु एमालेभन्दा कांग्रेस र माओवादीबीच मिलिरहेको छ । भोलि एकले अर्कोलाई धोका दिने अवस्थामा एमाले उपयोगी हुनसक्छ भनेर कांग्रेस र माओवादी बराबर सम्भावनाको खेल हेरेर बसेका छन् ।

यस्तो अवस्थामा कांग्रेसभन्दा एक कदम अगाडि बढेर प्रचण्डसहितका नेताहरू वाम एकताको नामलाई फेरि एकपटक भजाउन चाहन्छन् । जसको तत्काल एकता जटिल भए पनि रिहर्सल सुरु भइरहेको छ ।

चुनाव आउन अझै चार महिना बाँकी रहेका बेला स्वार्थी प्रवृत्तिका नेताहरू आफ्नो ठूलो भाग परेको खण्डमा वाम एकता गर्न पनि पछि पर्दैनन् । त्यसको सम्भावना कायमै रहेको तथ्य स्वयंम माधव नेपाल र नारायणकाजीदेखि ओलीसम्मका नेताहरू स्वीकार गरिरहेका छन् ।