अन्तर्राष्ट्रिय

नाइजेरियामा भएको सडक दुर्घटनामा ३० जनाको मृत्यु

By खबरहब

July 22, 2022

काठमाडौँ– अफ्रिकी मुलुक नाइजेरियामा भएको सडक दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियाको कादुना राज्यमा सवारी दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

सडकमा गुडिरहेका तीनवटा बस एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि बसहरुमा आगो लागेको थियो ।

दुर्घटनामा अरु दर्जनौँ घाइते भएको जनाइएको छ । जारिया र कानो सहरलाई जोड्ने राजमार्गमा उक्त दुर्घटना भएको हो ।

नाइजेरियाको सडक सुरक्षा निकायका क्षेत्रीय कमाण्डर हफिज मोहम्मदले बीबीसीलाई दिएको जानकारीअनुसार पीडितहरु अधिकांश महिला एवम् बालबालिका रहेका छन् ।

अधिकारीहरुले सवारी चालकको अधैर्यताका कारण दुर्घटना भएको जानकारी दिएका छन् । नाइजेरियामा यस्तो प्रकृतिका सडक दुर्घटनाहरु बेला बेला हुँदै आएको बताइन्छ ।