आर्थिक

मौद्रिक नीति : घरजग्गा धितो राखेर लिने कर्जामा कडाइ

By खबरहब

July 22, 2022

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमार्फत घरजग्गा कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीति मार्फत घरजग्गाको कर्जालाई कडाइ गरेको हो ।

अब घरजग्गा धितो राखेर ऋण लिनेले काठमाडौँ उपत्यकामा मूल्यको बढीमा ३० प्रतिशत र काठमाडौँ उपत्यकाबाहिर ४० प्रतिशतसम्म मात्रै ऋण पाउने छन् ।

यसअघि उपत्यकामा ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशतसम्म ऋण पाउने व्यवस्था थियो । भ्यालूएटरले चलनचल्ती र सरकारी मूल्यांकनलाई आधार बनाएर निकाल्ने कुल मूल्यबाट सो बराबरको ऋण पाइनेछ ।

मौद्रिक नीतिको ९६ नम्बर बुँदामा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कजा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालू बीचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिनेछ ।’