तस्वीर : बीबीसी

अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री आबेको सम्मानमा जापानले ‘राष्ट्रिय अन्त्येष्टि’ गर्ने

By खबरहब

July 22, 2022

काठमाडौँ- जापानले सेप्टेम्बर २७ मा पूर्वप्रधानमन्त्री सिन्जो आबेको सम्मानमा ‘राष्ट्रिय अन्त्येष्टि’ कार्यक्रम गर्ने भएको छ । सरकारले शुक्रबार यस्तो घोषणा गरेको हो । उक्त अन्त्येष्टिमा विदेशी नेताहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

यो समारोह टोकियोको निप्पोन बुडोकानमा आयोजना गरिनेछ । सरकारी प्रवक्ता हिरोकाजु मात्सुनोले जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको रूपमा आबेको रेकर्ड, उनका प्रशंसनीय उपलब्धिहरू र विदेशी नेताहरूसँगको उनको सम्बन्धले राष्ट्रिय अन्त्येष्टि उपयुक्त बनाएको बताए ।

उनले थपे, “हामी अन्त्येष्टि समारोहमा सहभागीता का लागि विशिष्ठ विदेशी पाहुनालाई पनि स्वीकार गर्नेछौँ । हामीसँग कूटनीतिक सम्बन्ध भएका देशहरुलाई यसबारे विस्तृत जानकारी दिइनेछ ।”

जुलाई ८ मा पश्चिमी शहर नारामा आबेलाई गोली हानिएको थियो । उनका आरोपित हत्यारा टेत्सुया यामागामी हिरासतमा छन् र उनले आबेलाई निशाना लगाएको स्वीकार गरेका छन् ।