काठमाडौं – नेपालमा बालीनाली र घरमा फैलिने हानिकारक कीरा मार्न बिषादीको प्रयोग बढेको छ । हरेक वर्ष ६ देखि ७ अर्बसम्मको विषादी वैधानिक तबरबाट आयात गरिन्छ । खुला सिमाना छ, अवैधानिक तरिकाबाट कति विषादी आउँछ कुनै लेखाजोखा छैन । ती विषादी गाउँ र सहरमा जथाभावी किनबेच हुने गरेको पाइन्छ । किनबेचको कुनै रेकर्ड अनुगमन हुँदैन । सरकारले अहिले कानुन त बनाएको छ । तर, कुनै व्यापारी, पसले र जथाभावी प्रयोग गर्नेलाई कारबाही गरियो भनेको सुनिएको छैन । त्यही भएर उपभोक्ता डरै नमानी आफू खुसी विषादी खरिद गरेर मनलाग्दी तरिकाले हचुवा शैलीमा प्रयोग गरेका छन् । जसले जनस्वास्थ्यमा ठुलो असर पारेको छ । हामीले दैनिक प्रयोग गर्ने तरकारी र फलफूलमा रसायनिक विषादीको प्रयोग दैनिक बढ्दो छ । नेपालमा कृषि व्यवसायीकरणसँगै बढ्दै गएको विषादीको प्रयोग र किनबेचले मानिसको स्वास्थ्यमा नकारात्मक असर पारेको चिकित्सकले बताएका छन् । यसै विषयमा आधारित रहेर जनस्वास्थ्यविद् शरद वन्तसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
पछिल्लो समय कृषि बालीमा प्रयोग हुने विषादीको प्रयोग जनस्वास्थ्यका हिसाबले ठूलो समस्या बनेको हो ? कृषिमा प्रयोग हुने रासायनिक विषादीको प्रयोग स्वास्थ्यका लागि हानिकारक हुन्छ । हामीले अहिलेसम्म यो सम्बन्धी रेकर्ड पाएका छैनौं । यसले कति असर गरेको छ भनेर । तर, पनि यो विषादीले स्वास्थ्यमा नकारात्मक असर नै पार्दछ ।
जनस्वास्थ्यलाई प्रयोग गर्ने विषादीको प्रयोग नेपालमा किन बढेको छ होला ? विषादीको प्रयोग खास गरेर कृषिमा आधारित हुन्छ । कृषिमा हाम्रो अर्गानिक मलको सट्टा रसायनिक मलको प्रयोग गर्छौ । त्यसले माटोको प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसमा उम्रिने विरुवाहरूको पनि प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसमा कीटाणुले आक्रमण गर्छ । त्यसका लागि कीटनाशक औषधिको बढी प्रयोग गरिन्छ ।
यो विषादीको प्रयोगले जनस्वास्थ्यलाई तत्कालीन र दीर्घकालीन रूपमा कस्तो असर गर्दछ ? तत्काल यसले पार्ने असर शरीरमा सामान्य एलर्जी र छाला सम्बन्धी समस्या हो । घातक भनेको दुर्घटनाको कारण पनि पोइजनिक हुनसक्छ । अहिले आत्महत्यामा पनि यसले असर गर्ने गरेको छ । दीर्घकालीन रुपमा यसले पार्ने असर भनेको क्यान्सरदेखि लिएर मिर्गौला, नशा, छाला सम्बन्धी रोग देखा पर्दछन् । त्यसैले कुन हदसम्म हामीले विषादीको प्रयोग गरेका छौँ, त्यसमा पनि भर पर्दछ ।
यो विषादीको प्रयोग भएको खाना खाँदा आमाले कम तौल भएको बच्चा जन्माउने भन्ने कुरा आएको छ, यसको वास्तविकता के हो ? जनस्वास्थ्य प्रतिष्ठान, नेपालले एउटा अध्ययन गरेको छ । गर्भावस्थामा त्यसको स्पर्शमा आयो भने कम तौल भएको बच्चा जन्मिने रहेछ । कीटनाशक औषधिले जुन क्यान्सर गराउन सक्ने सम्भावना कीटनाशक औषधिले मिर्गौला फेल गराउन सक्ने सम्भावना पनि देखिएको छ ।
विषादीको न्यूनीकरणको लागि विकल्प के के हुन सक्छन् ? विडम्बना के छ भने कृषिमा प्रयोग हुने रसायनिक विषयलाई कृषिमा मात्र जोडेर हेरिएको छ । तर, समस्या कृषिमा मात्र छैन। अहिलेको महत्त्वपूर्ण पाटो भनेको कृषि, स्वास्थ्य, उद्योग निकायबाट यो न्यूनीकरणको लागि अगाडि बढ्नु पर्दछ । स्वास्थ्यले अहिले कृषिमा प्रयोग हुने विषादीको कुनै रोकथाम गर्ने प्रयोग नगर भनेको छैन । स्वास्थ्यले यसको नकारात्मक प्रभावलाई मात्र लिएको छ । विषादीको आयात गरेको विषादीको तथ्याङ्क राख्ने वितरण गर्ने यो सबै कुरा कृषिमा जोडिएर आएको छ । यसलाई बहु आयामिक ढङ्गबाट व्यवस्थापन गर्नुपर्छ । उपभोक्ता पनि यसले स्वास्थ्यमा पार्न सक्ने प्रभावका बारेमा सजग रहनु पर्दछ । प्राङगारिक मल प्रयोग गरेर उत्पादन भएका साधनको खोजी गर्नु पर्दछ । बजारमा अर्गानिक भन्दा पनि राम्रोतर्फ सबैको ध्यान गएको पाइन्छ । यो विषादी प्रयोग गरेका फलफूल र तरकारी हेर्दा राम्रो देखिन्छ । तर, उपभोक्ताले हेर्दा राम्रो होइन, गुणस्तरीय छान्न सक्नुपर्छ ।
उपभोक्ता कसरी सचेत बन्न सक्छन् ? यो विषयमा उपभोक्तालाई जानकारी दिन स्वास्थ्य र कृषिको पनि भूमिका रहन्छ । सचेतनामूलक कार्यक्रम गर्नुपर्छ । सचेत उपभोक्ताहरू पनि बजारमा जाँदा प्राङ्गारिक उत्पादन नै हुँदैन । त्यसका लागि बजार व्यवस्थापन गर्नु पर्दछ ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानले विषादी न्यूनीकरणको लागि के कस्तो काम गरेको छ ? अहिलेसम्म हामीले कृषकहरूमा कम्तीमा रासायनिक मलको प्रयोग कम गर्ने र प्राङ्गारिक मलको प्रयोग गर्दा पनि धेरै उत्पादन हुन्छ भनेर परामर्श दिइराखेका छौँ । रासायनिक मल बिक्रेतामा पनि सुरक्षितका साथ त्यसको बिक्री वितरण गर्ने र कृषकमा त्यसको बारेमा सूचना दिनु पर्दछ भनेर हामी केन्द्रित भएका छौँ । पछिल्लो समय हामी उपभोक्तालाई केन्द्रित कार्यकम गर्ने छौँ ।
यो न्यूनीकरणको लागि कसैले तदारुकता नदेखाएको अवस्थामा कसले कस्तो काम गर्यो भने हामी सहजतातिर जान्छौँ ? स्वास्थ्यको क्षेत्रमा हामीले यो विषादीको प्रयोगलाई र हुनसक्ने सम्भावित रोगलाई तंथ्याकका प्रणालीमा राख्न जरुरी हुन्छ । रोगको रूपमा स्वास्थ्यकर्मीले पनि बिरामीसँग यो बारेमा बुझाउन सकिएको छैन जस्तो लाग्छ । त्यसको लागि हामी अग्रसर भएका छौँ। आउँदो दिनमा कीटनाशक विषादीलाई पनि सम्बोधन गर्नु पर्दछ भनेर हामीले यो प्रयास गरेका छौं। यो बहुआयामिक छ । बहुपक्षीय सम्बोधन आवश्यक छ । एउटा क्षेत्रले मात्र गरेर हुँदैन ।
कसरी विषादीको प्रयोगलाई घटाउन सकिन्छ ? हामीले प्रयोग गर्ने कृषि उत्पादनमा विषादी प्रयोग गरेको छ भने त्यसले तत्कालीन र दीर्घकालीन रूपमै असर गर्छ । दीर्घकालीन असरले असाध्यै नकारात्मक प्रभाव पार्दछ । नकारात्मक प्रभाव भनेको हाम्रो आगामी पुस्तामा पनि पर्दछ । त्यस्ता उत्पादन खरिद गर्दा राम्रो हेरेर मात्र हुँदैन । रसायनिक विषादीको प्रयोग भएको छ कि छैन त्यो जान्नु आवश्यक छ । उपभोक्ताको प्रयासमा नै रासायनिक विषादीको प्रयोग कम हुँदै जान्छ । (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)