काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका नेताहरू राजनीतिक आधार टेकेर गठबन्धनमा जाने मनस्थितिमा पुगेका हुन् । बालुवाटारमा भएको छलफलमा देउवाले लोसपालाई सत्ता गठबन्धनमा सामेल हुन प्रस्ताव गरेका थिए । लोसपा सत्ता गठबन्धनमा जाने विषयमा १० महिनादेखि छलफल भइरहेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग लोसपा नेताको टकराबले सत्तारोहण सहज देखिएको छैन । लोसपाका केन्द्रीय कार्यकारिणी सदस्यहरूका अनुसार गठबन्धनमा सामेल हुँदा यादव सँगको सम्बन्धले कुनै असर नगर्ने बत्ताउँछन् । के लोसपा अब गठबन्धनमा सामेल भएर चुनाव लड्ने तयारीमा पुगेको हो ? लोसपा सहभागी हुँदा काँग्रेससँग मात्र सहकार्य गर्ने योजना छ कि गठबन्धनमा रहेका ५ वटै दलसँग? यिनै विषयमा आधारित भएर लोसपाका नेता केशव झासँग धीरज बस्नेतले गरेको कुराकानी:
गठबन्धनमा सामेल हुने कि नहुने भन्ने जुन विवाद थियो त्यो टुङ्गिएको हो ?
हामीले सुरुमा सरकारलाई समर्थन गर्दा दुईवटा मुद्दालाई राखेका थियौँ । पहिलो नागरिकता विधेयक तयार गर्ने र अर्को मुद्दाहरु फिर्ता गर्नुपर्ने भनेर राखेका थियौँ । त्यसमा नागरिकता विधेयक पारित भयो तर मुद्दा फिर्ताका सवालमा अझै बाँकी छ । जो अगाडि जाने प्रक्रियामा छन् । त्यसैले अब हामी सरकारमा सहभागी हुन कुनै अप्ठ्यारो छैन ।
तपाईँहरू गठबन्धनमा जाने कि सरकारमा जाने हो ?
सबैभन्दा महत्त्वपूर्ण गठबन्धन हो । गठबन्धनको टुङ्गो नलगाई त सरकारमा जाने कुरा हुँदैन । त्यसैले अहिले गठबन्धनमा सहभागी हुने कुरा सुनिश्चितता बढ्यो र सरकारको पनि सम्भावना बढेर गयो ।
सत्तामा जान वा मन्त्री बन्न खुट्टा उचालेका तपाईँका नेताहरूलाई किन दश महिना लाग्यो ?
एउटा राजनीतिक पार्टीले सरकारमा जानु हुँदैन र यदि आफ्ना माग सुनिन्छन् भने बल्ल सरकारमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो । यही कारणले केही समय लाग्यो ।
उपेन्द्र यादवसँगको टकरावका कारणले सरकारमा जान या गठबन्धनमा जान सहज नभएको हो ?
केही मान्छेले आफ्नो विचार ल्याएर यो टीकाटिप्पणी भएको हो । हामीलाई सुरुमा केपी ओलीको सरकार बन्दा पनि बोलाएको थियो तर हामी नगएर बाहिरबाट समर्थन गर्यौँ । तर केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लियौँ । पछि त्यो सरकार अप्ठ्यारोमा परेपछि र हाम्रा माग र मुद्दाहरु सम्बोधन गर्दै गएपछि त्यो नागरिकता विधेयक १३९ जना माथि लागेको मुद्दा फिर्तामा वा संविधान संशोधनमा क्याबिनेटबाट कार्यदल बनाउने विषयमा होस् । यो तीनवटा काम भएपछि हामी सरकारमा जान सहमत हुन्छौँ ।
चुनावको मुखमा सरकारमा जान पाउनु ठूलो उपलब्धि होला नि, चुनाव त सत्ताले धेरै कुरामा प्रभाव पार्छ ?
अहिले सरकारमा माखो मार्न सकिँदैन । किनभने बजेट पनि सबै आफ्नो प्रक्रियामा गइसकेको सरकारमा गएर दैनिक रूपमा उपस्थिति हुनु मात्र हो । तर हामी गठबन्धनमा लामो यात्रा तय गर्नलाई एउटा विश्वासको वातावरण बनेको र हाम्रो माग मुद्दा पनि पूरा भएकाले त्यो कर्तव्य पूरा गर्नका लागि सबै ठाउँमा प्रतिनिधित्व हुनुपर्दछ भनेर तयार भएको हो । कुनै दिन हाम्रो पार्टी र जसपाबीच टकराव भएको छैन ।
दुई दलमा एकले अर्काको नाम नै लिन नचाहने चाहिँ किन नि ?
मौनता सबै कुराको स्वीकृति हो । जसपा र लोसपाबीच कुनै विवाद भएको छैन । वैचारिक आधारमा कार्यनीति मिलेन । रणनीति मिलेन र वैचारिक आधारमा नै समस्या भएको हो । सैद्धान्तिक कुराहरू मिल्न छोड्यो र त्यो भएपछि झगडा गरेर बस्नुभन्दा विचार नमिलेर छुट्टिँदा किन झगडा गर्नु किन गाली गर्नु भन्ने हो ।
जसपाका कारण तपाईँहरूलाई सरकारमा जान या गठबन्धनमा जान अप्ठ्यारो परेको हो कि हैन ?
यो गठबन्धन पनि भोलि कुन स्थितिमा लाने हो भनेर थाहा छैन । किनभने स्थानीय तहको निर्वाचनमा जुन विवाद रहयो । त्यस कारणले भोलि कस्तो गठबन्धन बन्ला त्यो हेर्न बाँकी छ । त्यसैले हामीले प्रजातान्त्रिक पार्टीहरु एकै ठाउँमा आउनु पर्दछ भन्ने मात्र हो ।
जसपासँग मिल्नका लागि भित्रभित्रै केही कसरत भएको हो त ?
विवाद दुई प्रकारको हुन्छ, एउटा सैद्धान्तिक र अर्को व्यवहारिक । त्यसैले हामीले यो सैद्धान्तिक रूपमा विचार मिलेन हामी छुटौँ भनेको हो । व्यवहारिक रूपमा गाली गरेर हामी छुटेको हैन । हामी त्यो पार्टी भोलि फुट्दै छ भनेर राति एकता गरेर जोगाएका थियौँ तर पनि उहाँहरूले हाम्रा नेताहरूलाई अराजक किसिमले कारवाही गर्न थालेपछि अब मिल्न सकिँदैन भनेर छुटेका हौँ ।
त्यसैले अहिले तत्काल सहकार्य हुने अवस्था छैन । तर राजनीतिमा कुनै असम्भव छैन । पछि के हुन्छ, त्यो अहिले थाहा हुँदैन ।
दुवै दलले मधेसका समस्यालाई लिएर अगाडि बढ्नुभएको छ । तपाईँहरू मिल्नसक्ने आधारहरूको खोजी भएको छैन ?
नागरिकता समस्या भनेको मधेसको भन्दा हिमाल र पहाडको समस्या हो । तत्काल उहाँहरूसँग सहकार्यको स्थिति छैन । यो गठबन्धनमा जाँदा उहाँहरू गठबन्धनमा हुनुहुन्छ । त्यसैले गठबन्धनमा अहिले ५ वटा दलहरू छन् त्यसमा अब हामी पनि छौँ । त्यसरी समग्रमा जान सकियो । उहाँहरूसँग नै सहकार्य गरेर जाने स्थिति छैन ।
अबको केही दिनमा पाँच दलीयबाट ६ दलीय हुन्छ ?
सबै कुरा ठीक रहयो भने यो सम्भव छ ।
तपाईँहरू गठबन्धन गर्दा पाँच दलसँग मिल्ने कि काँग्रेससँग मात्र मिल्ने त ?
एउटासँग मात्र सहकार्य गर्न जाने भन्ने हुँदैन त्यसैले हामी जाने भनेको कुरै गठबन्धनमा नै सहकार्य गर्ने गरी जाने हो । जे मोडालिटी बन्छ, त्यो आधारमा नै सबैलाई एकनासको हुन्छ । सिट बाँडफाँडका लागि २०७४ सालको चुनावमा कसले कुन प्रतिनिधिसभामा जितेको छ त्यसको आधारमा हुन्छ र दोस्रो अहिले स्थानीय तहमा आएको मतको आधारमा होला ।
काँग्रेसले मधेसमा आफ्नो शक्ति बढाउन चाहेको कारणले गर्दा अरू दलले नमाने पनि काँग्रेसले सहकार्य गर्यो भने सहकार्य गर्ने कि नगर्ने ?
यो विषयमा काँग्रेस त सकारात्मक छ तर अरू दलहरू पनि सकारात्मक देखिन्छ । त्यसैले काँग्रेससँग मात्र एकलौटी अगाडि बढ्ने कुरा हुँदैन ।
एमालेसँग कुरा किन नमिलेको ?
सुरुदेखि एमालेको विचार हाम्रो विचारभन्दा फरक कुरा गर्ने उल्टो कुरा गर्ने थियो । त्यसैले पहिलो शत्रुगत व्यवहार एमालेसँग नै थियो । संसद् २ पटक विघटन भयो त्यसमा पहिलो व्यवस्थापिका संसद् र प्रतिनिधिसभाको विघटन भयो त्यो विशुद्ध रूपमा असंवैधानिक थियो । जसको विरोध हामीले गर्यौँ र त्यो रिजेक्ट भयो । तर दोस्रोपटक प्रतिनिधिसभाको विघटन हो कि हैन भनेर संवैधानिक हो कि हैन भनेर आजको दिनमा पनि फरक–फरक विचार छ । पछि हाम्रो माग पूरा गराउनु थियो । त्यसैले यता हाम्रो माग मुद्दा पूरा भएपछि सहभागी हुन्छौँ भनेर शर्त राख्यौँ ।
तपाईँहरूको माग मुद्दा पूरा भएपछि त्यो दलले जस्ता गतिविधि गरे पनि स्वीकार्नु हुँदोरहेछ है ?
गतिविधि भन्नाले के देश बेच्दै थियो र ? काहीँ देशलाई विघटन गरेको हो र ? शक्ति सञ्चालनको विषयमा लोकतान्त्रिक विधिमा कसैले गलत गर्न सक्छ तर हामीले विधिको व्यवस्थालाई जोगाउनु पर्दछ । त्यसैले अदालतले गरेको निर्णय पनि पचाएर केही सजाय दिएर अगाडिको यात्रा पूरा गर्नुपर्छ । न्यायालयले न्याय दिन्छ तर कुनै कुरामा दिएको हुँदैन ।
संसद् पुनर्स्थापना गरेर अदालतले गलत गरेको हो त ?
संसद् पुनर्स्थापना गरेर गलत गरेको हैन तर व्यक्तिको नाम तोकेर प्रधानमन्त्री जुन बनायो, त्यो गलत हो । त्यतिबेला एउटा न्यायिक विषयमा नराम्रो फैसला भयो भनेर सबैले बोलेको हो त्यसैले कुनै कुरा भनिएको छ भने त्यसलाई आंशिक रूपमा ग्रहण गर्नु पर्दछ ।
(प्रस्तुतिः पुष्पाञ्जली बस्नेत)