काठमाडौँ- केही दिनअघि मात्रै बाबुराम भट्टराई माओवादीको चुनाव चिन्ह लड्ने निष्कर्षमा पुगे । उनको यो घोषणा आफैँमा यति धेरै विवाद र विरोधाभास बन्यो कि बाबुराम भट्टराईले जन्माउने र राजनीति सिकाउने नेपाली समाज थियो ।
अर्थात् भनौँ बाबुराम भट्टराईको राजनीतिक यात्रा र उपलब्धिलाई लिएर सबैभन्दा बढी आलोचना गर्ने नेपाली समाज छ । जबकि अहिलेसम्मका प्रधानमन्त्रीहरूमा उनी एक मात्रै विद्धान हुन् । पीएचडी गरेका कुनै व्यक्ति परिवर्तनका लागि सशस्त्र द्वन्द्वमा होमिदा मात्रै होइन, शान्ति स्थापना र माओवादीको विद्रोहलाई दिल्लीमा १२ बुँदे सम्झौता गराउँदा पनि बाबुराम नै सुत्राधार थिए ।
उनै बाबुरामले माओवादीबाटै चुनाव जिते । सांसद बने । अर्थमन्त्री र प्रधानमन्त्री बनेपछि नेपालको नयाँ संविधान जारी भएको सगौरव घोषणा गरे । नयाँ संविधान जारी गराएर नेपालको राजनीतिक परिवर्तनमा एक महत्त्वपूर्ण कोशेढुंगा पार गरेपछि माओवादी अध्यक्ष प्रचण्डको अत्याचारबाट विद्रोह गरेका बाबुराम फेरि उदारको राजनीति गर्दागर्दै फेरि माओवादीको ढोकामा आइपुगेका छन् ।
यसलाई निकै थोरैले मात्र बाबुरामको घर फिर्तीका रूपमा बुझेका छन् । अनि धेरैले चाहिँ प्रचण्डको शरणमा बाबुराम परेको भन्दै उनको अत्यधिक आलोचना गरिरहेका छन् । जबकि राजनीतिक सिद्धान्त, बुझाई र त्यसको वकालतमा बाबुराम प्रचण्डभन्दा धेरै गुणा शक्तिशाली नेता हुन् ।
फरक यति मात्रै हो बाबुरामले इमानदार र कार्यकर्तालाई केन्द्रमा राखेर राजनीति गरे । तर प्रचण्डले सत्ता, शक्ति र आफ्नो बलमिच्याईलाई केन्द्रमा राखेर राजनीति गरे । जसले अत्याचार गरेर पनि नेतृत्व छाडेनन् । कैयौँ कार्यकर्ताका सपना सहिद बनाएका प्रचण्डलाई होइन, आज नेपाली समाज बाबुरामलाई बबुरो बनाइरहेको छ । कम्तीमा त्यही बुझिरहेको छ ।
अहिले माधव नेपालको हालत ठ्याक्कै बाबुराम भट्टराईको जस्तो बन्छ कि भन्ने संकेत निरन्तर देखिएका छन् ।
केही दिनअघि मात्रै माधव नेपालले प्रचण्डसँग पार्टी एकता गर्ने तयारी गरेको समाचार बाहिरियो । एक्लै चुनाव लड्ने अवस्था नभएको स्पष्ट छ । सत्ता गठबन्धनमा तालमेल गर्दा पनि कांग्रेस कार्यकर्ताले अन्तर्घात गरेर चुनाव हराइदिने डर माधव नेपाललाई छ । आफ्नो संगठन बलियो नभएका कारण माओवादीकै संगठनको भर परेर चुनावमा केही सिट जित्नुपर्ने तीव्र दबाब माधव नेपाललाई छ ।
अनि जहाँ जहाँ माधव नेपालका नेता कार्यकर्ताको उम्मेदवारी दिने तयारी छ, त्यहाँ पहिल्यै कांग्रेस र माअोवादीका नेता कार्यकर्ताको प्रभावशाली संगठन छ । संगठन आफ्नो भए पनि, चुनाव आफूले जित्ने भएपछि माधव नेपालका उम्मेदवार जिताउन पक्कै पनि माओवादी र कांग्रेस तयार छैनन् ।
यसअघि स्थानीय तहको चुनावमा यही परिदृश्य देखिएको थियो । यसमा त झन् सरकार बनाउनेदेखि आफ्नो सिट संख्याको निर्णायक शक्ति देखाउनेसम्मको रस्साकस्सी हुन्छ । यस्तो बेला माधव नेपाल स्वयंमलाई चुनाव जित्न कठिन हुन सक्ने अवस्था छ ।
यद्यपि शीर्ष नेतालाई सहजै नेता कार्यकर्ताको आड भरोसा रहने भएकाले कठिन नहोला । तर अहिले नेकपा एकीकृत समाजवादीमा माधव नेपाल बाहेकलाई चुनाव जित्न निकै हम्मे हम्मे पर्ने देखिन्छ । कांग्रेस नभए माओवादी कार्यकर्ताले साथ दिए पनि माधव नेपालका नेता कार्यकर्ताले चुनाव जित्न सक्ने अवस्था छैन ।
त्यसमाथि माधव नेपालका उम्मेदवार भएका ठाउँमा एमालेले कांग्रेस वा माओवादीका उम्मेदवारलाई बागी उठाएर हराइदिने सम्भावना पनि त्यत्तिकै छ । सत्ता गठबन्धन केन्द्रमा बलियो भए पनि तल्लो तहसम्म कमजोर छ ।
किनकि माधव नेपालका कारण आफ्नो भाग खोसिएको महसुस कांग्रेस र माओवादीका बलिया नेताहरूले गरिरहेका छन् । प्रतिनिधिसभा र प्रदेश सभा चुनाव लड्दा माओवादी र कांग्रेसका उम्मेदवारले त्यो महसुस गर्नेछन् ।
यस्तो अवस्थामा माधव नेपालले सत्ता गठबन्धनमा बलियो सिट पाउने सम्भावना कम छ । संगठन बलियो नभएका कारण सिट पाए पनि त्यसलाई जितमा परिणत गर्न सक्ने सम्भावना झन् कम छ । यो सबै कुराको हिसाबकिताब गरेर माधव नेपाल प्रचण्डसँग पार्टी एकता गरेरै अगाडि जानुपर्ने अवस्थामा पुगेका छन् ।
यसअघि नयाँ शक्तिमा आफ्नो शक्तिको जरा बलियो नभएपछि बाबुराम भट्टराई उपेन्द्र यादव, महन्थ ठाकुर हुँदै कमजोर बनेर एक्लिएपछि फेरि प्रचण्डको कित्तामा पुगेको दृश्य ताजै छ । यस्तै अवस्था हो भने माधव नेपाल अहिले सत्ता गठबन्धन, भोलि प्रचण्ड र आफ्नै राजनीतिक शक्ति क्षीण हुँदा फेरि ओलीको कित्तामा पुग्नुपर्ने बाध्यतामा पर्छन् कि भन्ने अनुमान गर्न गाह्रो छैन ।
यदि यो अवस्था आइहाल्यो भने माधव नेपाललाई नेपाली समाजले ओलीको अत्याचारविरुद्ध विद्रोह गरेको, संविधान बचाउन कांग्रेस र माओवादीसँग तालमेल गरेको भन्ने छैन, बरु नेपाली राजनीतिमा बाबुराम भट्टराईजस्तै अर्को ‘बबुरो’ बनेको टिप्पणी गर्न थाल्नेछन् ।