देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

By खबरहब

September 22, 2022

काठमाडौँ – आज दिनभर यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै सर्वोच्चमा रिट, राष्ट्रपतिले संविधानको गम्भीर उल्लघंन गरेको आरोप, राष्ट्रपतिको विरोधमा प्रदर्शन, फलामको पाइप लागेर भक्तपुरमा एक जनाको मृत्यु लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाएको छ ।

ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अडिएको छ । घाइतेहरुको हेटौंडाका अस्पतालहरूमा उपचार भइरहेको छ । यस्तै रुकुम पूर्वको भूमे गाउँपालिका– ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना बढी घाइते भएका छन् । काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ । उद्दार भइरहेकाले मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेको परिचय नखुलेको डीएसपी डाँगीले बताउनुभयो । यसै बिच गृहमन्त्री बालकृष्ण खाणले रूकुमपूर्व बस दुर्घटनामा परेका घाइतेको उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले रूकुमपूर्वका प्रहरी र प्रशासन प्रमुखलाई फोन गरेर घाइतेको उद्धार गर्न हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका हुन् । गृहमन्त्री खाणले दुर्घटनामा घाइते भएकाहरूको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिएका थिए ।

नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै सर्वोच्चमा रिट नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका निवर्तमान सदस्य सुनीलरञ्जन सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा उल्लेख भएको प्रावधानलाई उल्लङ्घन गरेर नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दिएको रिट आज बिहीवार दर्ता भएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

यसै विषयमा अरू रिट पनि आएको र दर्ता हुनेरनहुने विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए ।

राष्ट्रपतिले संविधानको गम्भीर उल्लघंन गरेको आरोप स्वास्थ्य भवानीप्रसाद खापुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लघंन गरेको बताएका छन । राष्ट्रपति भण्डारीले उक्त विधेयक अस्वीकार गरेर नयाँ समस्या सिर्जना गरेको उनको भनाई छ ।

बिहीबार काठमाडौंमा डाक्टरहरुसँग स्वास्थ्य परामर्श उपलव्ध गराउने ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गर्दैमन्त्री खापुङले संविधानको संरक्षक राष्ट्रपतिबाट संविधानको उल्लघंन भएको बताउनुभयो । मन्त्री खापुङले नेपालको संविधानमा राष्ट्रपतिले गर्ने उल्लेख भएका कामहरुबाहेक आफ्नो विचार, दृष्टिकोणले राष्ट्रका लागि कुनैपनि काम आफ्नो विचारले गर्ने व्यवस्था नभएको पनि दाबी गरे ।

राष्ट्रपतिको विरोधमा प्रदर्शन राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्ने काम असंवैधानिक भएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

संघीय संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतीले संविधानको उल्लंघन गरेको समेत आरोप उनीहरुले लगाएका छन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रियताका बिषयमा राजनीतिकरण गर्न खोजिएको बताए ।

उनले एमालेका भातृसंगठनहरुले राष्ट्रिय झण्डा दुरुपयोग गरेको भन्दै यस्तो नगर्न खवरदारी समेत गर्नुभयो ।त्यस्तै अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले शितल निवासबाट संविधान च्यात्ने षडयन्त्र भइको भन्दै खवरदारी गर्नका लागि विद्यार्थीहरु सडकमा आउनुपरको धारणा राखे ।

त्यस्तै नेकपा एकीकृत समाजवादी निकटअनेरास्ववियुले मुलुकमा संवैधानिक व्यवस्थालाई कायम राख्न देशभक्तहरु एकजुट हुनुपर्ने बेला आएको बताएका छन।

दिगो विकासका लागि सामाजिक संस्थाको भूमिका आवश्यक : प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याणको माध्यमबाट मुलुकका उत्पीडित पिछडिएका समुदायको उत्थान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन ।

उनले सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असाहय वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिने भन्दै यसले समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताए ।

४३ औं सामाजिक सुरक्षा दिवसको मूल समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दिगो विकास र आवधिक लक्ष्य प्राप्तिका लागि सरकार गैरसरकारी सङ्घसंस्थासँग समन्वयात्मक ढङ्गले काम गर्न आवश्यक रहेको बताऐ । उनले सामाजिक संस्थाको लगानी र भूमिकालाई व्यवस्थित र पारदर्शी बनाउँदै प्राथमिकताका क्षेत्रमा सक्रियतापूर्वक परिचालन गरिनुपर्नेमा जोड दिए ।

२० बर्षे आयु पुनर्बिचार गर्न माग स्वरोजगार यातायात मजदुर संगठनले सार्वजनिक सवारी साधनमा लगाएको २० बर्षे आयु पुनर्बिचार गर्न माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले भेहिकल फिटनेश टेष्टका आधारमा मात्रै सवारीसाधन चल्न पाउने मापदण्ड बनाई २० बर्षे आयु पुनर्बिचार गर्न माग गरेको हो ।

सार्वजनिक सवारीलाई लगाइएको २० बर्ष आयु तोक्ने निर्णय तत्काल खारेज हुनुपर्ने, २० बर्ष पुगेका सवारी साधनहरुको कागजपत्रहरु तत्काल नविकरण गर्नुपर्ने र जफत गरिएका सवारी सवारी साधनहरु तत्काल सवारी धनीहरुलाई फिर्ता गर्नुपपर्ने आफुहरुको माग रहेको संगठनका अध्यक्ष खड्ग बहादुर गिरीले जानकारी दिए ।

उनले गाडीहरु आयुले नभई इञ्जीनले चल्ने भएकाले इञ्जीन सहि अवस्थामा रहेका सवारी साधन चल्न पाउनुपर्ने बताए । संगठनले यस बिषयमा आफुहरु छलफल गर्न तयार रहेको र समस्या समाधान नभए संघर्षको बाटो रोज्ने चेतावनी दिएको छ ।

थप ६६ जनामा कोरोना संक्रमण पुष्टि नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार १ सय ९० पिसिआर परिक्षणका क्रममा ५९ जना र २ हजार ७२ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ४ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

फलामको पाइप लागेर भक्तपुरमा एक जनाको मृत्यु सूर्यविनायक नगरपालिका ८ जगातीस्थित समानान्तर कंक्रिट ९रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने० उद्योगमा काम गर्ने क्रममा फलामको पाइप खसेर लागेपछि एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बर्दिया बारबर्दिया नगरपालिका–७ घर भई सोही उद्योगमा कार्यरत २४ वर्षीय विवेक चौधरी रहेका छन् ।

फलामको पाइपले लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको हो । फलामको पाइप खसेर लाग्दा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिया बारबर्दिया नगरपालिका–७ घर भई सोही उद्योगमा काम गर्ने १९ वर्षीय प्रमोद चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अन्दाजी ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइप बिग्रिएपछि मर्मत गर्ने क्रममा सोही पाइप खसेर दुर्घटना भएको बताइएको छ ।

काठमाडौं महानगरले भत्कायो वीर अस्पताल क्षेत्रको अनधिकृत संरचना काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो ।

संरचना भत्काउने विषयमा महानगरले माइकिङ गरेर जानकारी दिने र समान हटाउन अनुरोध गर्ने गरेको छ । बिहीबार नगर प्रहरी, स्थानीय जनप्रतिनिधिसहितको टोलीले वीर अस्पताल अगाडि रहेका अनधिकृत संरचना भत्काएको हो ।

अनधिकृत संरचनामा फार्मेसी रहेक थिए । पार्क बनाउने भनेर स्वीकृति लिएको स्थानमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्न भाडामा दिएपछि महानगरले डोजर चलाएको हो ।

भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत भक्तपुरमा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ४० वर्षीय राजु नेपालीलाई बुधबार पक्राउ गरेको छ ।

राजुले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविका विद्यार्थीलाई ठक्कर दिएको हो । मृत्यु हुने विद्यार्थी कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियार रहेको विद्यालयका प्रधानाध्यापक राम अर्यालले बताए ।

जेब्राक्रसबाट बाटो काट्दै गर्दा बसले विद्यार्थीलाई ठक्कर दिएको थियो । अहिले गजुरी बजार तनावग्रस्त रहेको छ । दुवैतर्फबाट आएका सवारी साधन गजुरीमै रोकिएका छन् । स्थानीय बासिन्दा र विद्यार्थीहरूले पृथ्वी राजमार्गमा प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने बसलाई उनीहरूले आगजनी गरेको प्रहरीले जनाएको छ ।