फाइल तस्वीर- अनादोलु एजेन्सी

अन्तर्राष्ट्रिय

तालिबानको कारवाहीमा परी अफगानिस्तानमा ६ आईएस लडाकु मारिए

By खबरहब

October 22, 2022

काठमाडौँ- अफगानिस्तानमा शासन गरिरहेको तालिबानको विशेष दस्ताले राजधानी काबुलमा प्रतिद्वन्द्वी लडाकु समूह इस्लामिक स्टेट (आईएस) का सदस्यहरू लुकेको ठाउँमा आक्रमण गरेको छ ।

आक्रमणमा छ जना लडाकु मारिएको तालिबानको नेतृत्वमा रहेको कार्यवाहक अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार बताएका छन् ।

प्रवक्ता मुजाहिदका अनुसार इस्लामिक इमिरेटको विशेष एकाइहरूको बलले हिजो आईएस लडाकुहरूको लुकेको ठाउँ पत्ता लगाई दुई जना लडाकुहरू पक्राउ गरेको थियो । अफगानिस्तानमा शासन गरिरहेको तालिबानले आफूलाई इस्लामिक इमिरेट भनी चिनाउने गरेको छ ।

मारिएका केही लडाकुहरू वजिर अकबर खानको मस्जिद र दश्त–ए–बर्ची जिल्लाको कलेजमा भएका घातक आतङ्ककारी हमलाहरूमा संलग्न रहेको जनाइएको छ । ती आक्रमणमा केही हप्ता अघि दर्जनौं मानिसहरूको ज्यान गएको थियो ।

मुजाहिदले कारवाहीका क्रममा एक सुरक्षाकर्मी पनि मारिएको र अर्का एक घाइते भएको पुष्टि गरेका छन् ।

अफगानिस्तानमा आईएस समूह विरुद्ध तालिबानको यो दोस्रो कारवाही हो । केही दिन अघि उत्तरी कुन्दुज प्रान्तमा अफगान सेनाले गरेको यस्तै कारवाहीमा पाँच आईएस लडाकु मारिएका थिए ।