समाचार

नाग्म-गमगढी राजमार्ग सञ्चालनमा 

By खबरहब

October 22, 2022

जुम्ला– नाग्म-गमगढी राजमार्ग सञ्चालनमा आएको  छ । १९ असोजदेखिको अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म-गमगढी सडक खण्ड आजदेखि सञ्चालनमा आएको  हो । सडक डिभिजन कार्यालय जुम्लाले नाग्म-गमगडि राजमार्ग खुलेको जनाएको छ ।  

कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको  उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेको हो । नाग्म-गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबै भन्दा बढी पहिरो गएको थियो । इन्जिनियर गणेश भक्रीले हिमा गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म मात्रै करिब आठ किलोमिटर लामो पहिरो गएको थियो, सो पहिरो पनि पन्छाएपछि सडक खुलेको हो । उनले नाग्म-गमगढी राजमार्गको ९३ किलोमिटरमा एक सय ५० वटा पहिरो पन्छाएको बताए ।    

 हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा  र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा खसेको पहिरो पनि पन्छाइएको छ । पहिरो पन्छाएपछि मोटरसाइकलहरू सहजै ओहोरदोहोर गर्न थालेका छन् भने साँघुरो स्थानमा थप मर्मत गरे गाडी चलाउने तयारी भइरहेको छ ।