तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

चीनका पूर्वराष्ट्रपति हु जिन्ताओलाई कम्युनिष्ट पार्टीको अधिवेशनबाट जबरजस्ती निकालियो (भिडियोसहित)

By खबरहब

October 22, 2022

काठमाडौँ- चीनका पूर्वराष्ट्रपति हु जिन्ताओलाई सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट जबरजस्ती बाहिर निकालिएको छ ।

महाधिवेशनको समापन सत्रका क्रममा वर्तमान राष्ट्रपति सी जिन्पिङसँगै रहेका जिन्ताओलाई चिनियाँ अधिकारीले जबरजस्ती उठाएर अन्यत्र लगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

भिडियोमा ७९ वर्षीय पूर्वराष्ट्रपति हुलाई कसैले उनको मञ्जुरीबिना जबरजस्ती उठाएर लगेको देख्न सकिन्छ । उनलाई जबरजस्ती महाधिवेशनबाट अधिकारीले उठाउँदै गर्दा उनीसँगै बसेका राष्ट्रपति सी उनलाई हेरिरहेको देखिन्छन् ।

पछि उनी आफैँ उठेर जान मञ्जुर हुन्छन् । जानेबेला उनले सीलाई केही भनिरहेको देख्न सकिन्छ । जवाफमा राष्ट्रपति सीले टाउको हल्लाउँछन् ।

उनलाई महाधिवेशनको समापन सत्रबाट जबरजस्ती किन अन्यत्र लगियो भन्नेबारे केही खुलाइएको छैन ।

उनी सन् २००३ देखि सन् २०१३ सम्म चीनको राष्ट्रपति रहेका थिए । वर्तमान राष्ट्रपति सी जिन्पङलाई कम्युनिष्ट पार्टीले ऐतिहासिक तेस्रो कार्यकालका लागि पुनः चयन गर्ने अपेक्षाबीच पूर्व राष्ट्रपतिलाई महाधिवेशनबाट जबरजस्ती बाहिर निकालिएको हो ।