फाइल फोटो

समाचार

महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल

By खबरहब

October 22, 2022

कैलाली– कैलालीको लम्कीचुहा–१ को कार्यालयले वडाअन्तर्गतका ११ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । स्थानीयस्तरको  स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै उनीहरूको सम्मानस्वरूप साइकल वितरण गरिएको लम्कीचुहा नगरपालिकाका वडाध्यक्ष नेत्रप्रसाद खनालले बताए  ।

गर्भवतीदेखि सुत्केरी हुँदासम्म नवजात शिशुको नियमित खोपदेखि कोभिड–१९ को महामारी र हाल डेङ्गु नियन्त्रणको लागि गाउँघर र टोलटोलमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको जति प्रशंसा गरे पनि कम हुने उनको भनाइ थियो ।

लम्कीचुहा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारीले स्वास्थ्यका आधारस्तम्भ भनेको नै महिला स्वास्थ्य स्वयंसेविका भएको बताए । मातृशिशु मृत्युदर घटाउन र सरुवा रोगबाट बचाउन प्रमुख भूमिका नेपालमा महिला स्वास्थ्य स्वयंसेविकाको नै रहेको उनको भनाइ थियो । 

दिनरात नभनी आफ्नो सेवामा निरन्तर लागि रहेका स्वास्थ्य स्वयंसेविका वडा कार्यालयबाट साइकल पाएपछि हर्षित भए । वडा नम्बर १ अन्तर्गतका ११ स्वास्थ्य स्वयंसेविकालाई  वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को बजेटबाट रु एक लाख २६ हजार बराबरको साइकल खरिद गरी वितरण गरेको थियो ।

साइकल पाइसकेपछि स्वास्थ्य स्वयंसेविकाको संयोजक पार्वती बजगाईले वडा कार्यालयलाई धन्यवाद दिँदै आगामी दिनमा आफूहरूको मनोबल बढाउने कार्यक्रम गर्न आग्रह गरे। दश वटा वडा रहेको उक्त नगरपालिकामा ९१ महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।