तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

हङकङमा ४ नाबालिगलाई जेल सजाय सुनाइएकोमा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

By खबरहब

October 22, 2022

काठमाडौँ- हङकङमा चार जना नाबालिगलाई जेल सजाय सुनाएकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालयले हङकङमा चार जना नाबालिगलाई जेल सजाय सुनाइएकोप्रति चिन्ता व्यक्त गरेको हो ।

चीनले राष्ट्रिय सुरक्षा कानून अनुसार चार नाबालिगसहित ५ जनालाई जेल सजाय सुनाएको थियो । सजाय पाउने नाबालिगमा १७ वर्षे युएन का हिम, १६ वर्षे वान चुङ वाई, १७ वर्षे लिउङ युङ वान र १७ वर्षे सियुङ चाउ चिङ यु रहेका छन् । यसबाहेक १९ वर्षे क्वोक मान हेईलाई पनि सजाय सुनाइएको छ ।

उनीहरुले तालिम केन्द्रमा सजाय कटाउने बताइएको छ । २१ वर्षभन्दा कम उमेरका कैदीहरुलाई तालिम केन्द्रमा राखिने गरिएको छ । उनीहरुले आन्दोलनको आह्वान गरी विद्रोह भड्काउने षड्यन्त्र गरेको अभियोग लगाइएको छ ।

‘चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा राष्ट्रिय सुरक्षा कानूनको आधारमा शनिबार अरु ५ जना – तीमध्ये चार जना नाबालिग – लाई सजाय दिइएको घटनाबाट हामी चिन्तित बनेका छौँ ।’ राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तको कार्यालयकी प्रवक्ता रविना शामदशनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।