ब्रेकिङ स्टोरी

गोरखा २ मा प्रचण्डको अग्रता थप फराकिलो

By खबरहब

November 22, 2022

गोरखा – प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गर्दै लगेका छन् ।

पछिल्लो मतपरिणाम अनुसारसम्म करिब छ हजार मतपत्र गणना गर्दा उनले तीन हजार सात सय ८५ मत प्राप्त गरेका छन् । अध्यक्ष दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले नौ सय ३५ मतका साथ पछ्याई रहेका छन् । त्यस्तै नेकपा (एमाले)का अब्दुस सलाम मियाँले अहिलेसम्म आठ सय ६४ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फ माओवादी केन्द्रले एक हजार सात सय ९४ नेपाली कांग्रेस एक हजार ६३, नेकपा (एमाले)ले दुई सय ९० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई सय ७४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।

त्यसैगरी, प्रदेशसभातर्फ समानुपातिमा २ (१) मा माओवादी केन्द्रले एक हजार चार सय ७८ मत र एमालेले सात सय ७८ मत प्राप्त गरेको छ ।