राजनीति

पूर्णबहादुरको क्षेत्र सुर्खेतको सिम्तामा पुनःमतदान जारी

By खबरहब

November 22, 2022

सुर्खेत – मङ्सिर ४ गते स्थगित सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ ।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पूर्णबहादुर खड्काको क्षेत्र सुर्खेत-१ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा केन्द्रको मतदान आइतबार रद्द गरिएको थियो ।

आज बिहान ७ बजे सुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ । अहिलेसम्म दुई सय ५० मत खसेको मतदान अधिकृत पौडेलले बताए । उनका अनुसार उक्त मतदानस्थलका तीन मतदान केन्द्र गरी दुई हजार नौ सय २६ मतदाता सङ्ख्या रहेको छ ।