धनगढी– आइतबार सम्पन्न प्रतिनिधि सभाको मत गणना सुरु हुँदा माओवादी केन्द्रले कुनै पनि स्थानमा अग्रता ल्याउन सकेको छैन । प्रतिनिधि सभातर्फ सुदूरपश्चिमका ४ स्थानमा माओवादी केन्द्रबाट उम्मेदवारी परेको थियो । ४ वटै स्थानमा सत्तारूढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका साझा उम्मेदवार रहेका थिए । तर कैलाली-३ मा पराजितनै भइसकेको माओवादी केन्द्र अन्य तीन स्थानमा पनि मतान्तरमा पछाडि परेको छ ।
कैलाली तीनबाट माओवादी केन्द्रका कुन्दन चौधरीले उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसकेका छन् ।कैलाली क्षेत्र नम्बर-२ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवाल उम्मेदवार रहेकोमा त्यहाँ पनि हालसम्म नागरिक उन्मुत्ति पार्टीको अग्रता रहेको छ ।
त्यसैगरी कञ्चनपुर क्षेत्र नम्बर-१ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालकी बुहारी विना मगरले उम्मेदवारी दिएकोमा सो क्षेत्रमा हालसम्म नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले अग्रता लगेका छन् ।
यसैगरी माओवादी केन्द्रले बैतडीमा सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका थिए । सो स्थानमा माओवादी केन्द्रका नरेन्द्र कुँवरले उम्मेदवारी दिएका थिए । तर हाल सम्म बैतडीमा एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता लगिरहेका छन् ।
कांग्रेस, एमालेको ५/५ स्थानमा अग्रता
प्रतिनिधि सभातर्फ सुदूरपश्चिममा नोपली कांग्रेस र नेकपा एमालेले ५/५ स्थानमा अग्रता लगेका छन् । बाजुरा बाहेक प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसक्दा नेपाली कांग्रेसले अछाम-२, दार्चुला, डडेल्धुरा तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-दुई र तीनमा अग्रता लिएको छ । त्यसैगरी नेकपा एमालेले बझाङ, बैतडी, कञ्चनपुर-१, कैलाली-४ र ५ मा अग्रता लिएको छ ।
अछाम दुईमा नेपाली कांग्रेसका पुष्प शाही, डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, दार्चुलामा दिलेन्द्र प्रसाद बडू, कञ्चनपुर-२ मा एनपी साउँद र क्षेत्र नम्बर-३ मा रमेश लेखकले अग्रता लिएका छन् ।
बझाङमा एमालेका उम्मेदवार ऐनसिंह महर, बैतडीमा एमालेका दामोदर भण्डारी, कञ्चनपुर क्षेत्र नम्बर-१ मा तारालामा तामाङ, कैलाली-४ मा लेखराज भट्ट र कैलाली-५ मा नारदमुनि रानाले अग्रता लिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीको दबदबा
एक वर्षअघि दर्ता भएको नागरिक उन्मुक्त पार्टीले स्थानीय तहको निर्वाचनमा पाएको उपलब्धी रक्षा गर्दै थप सफलता प्राप्त गरेको छ ।
स्थानीय तहको निर्वाचनमा ४ पालिका जितेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा पनि आफ्नो वचस्र्व कायम राख्ने देखिएको छ । नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नम्बर-३ मा जित हाशील गरिसकेको छ, भने कैलाली १ मा जित उन्मुख र क्षेत्र नम्बर-२ मा पनि अग्रता कायम गरिरहेको छ । यो उपलब्धि नागरिक उन्मुक्ति पार्टीका लागि ठूलो सफलता हो ।
२०७४ को निर्वाचनमा कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशमलाल चौधरी भारी मतसहित विजयी भएपछि सो मतलाई जोगाउन उनले आफ्नै पत्नी रञ्जिता श्रेष्ठ (चौधरी) लाई अध्यक्ष बनाएर पार्टी गठन गरेका हुन् । नागरिक उन्मुक्ति पार्टी स्थानीय तहको निर्वाचनबाट कैलालीको ठूलो दल बनेको थियो भने । प्रतिनिधि सभामा पनि तीन स्थानमा जीत हाशील गर्न सके नागरिक उन्मुक्ति पार्टी कैलालीको ठूलो दल बन्ने छ ।
नेकपा एसलाई सन्तोष
प्रतिनिधि सभा निर्वाचनतर्फ मतगणना जारी रहँदा नेकपा एसलाई सुदूरपश्चिममा सन्तोष मिलेको छ । प्रदेशका तीन स्थानमा मात्रै उम्मेदवारी दिएको नेकपा एसले यो समाचार तयार पार्दा सम्म दुई स्थानमा अग्रता कायम गरिरहेको छ ।
डोटी, अछाम-१ र बझाङमा उम्मेदवारी दिएको नेकपा एसले डोटी र अछाम-१ मा अग्रता कायम गर्दै पार्टीका कार्यकर्तालाई सन्तोष दिइरहेका छन् । डोटीमा नेकपा एसका तर्फबाट पूर्व मन्त्री प्रेम आले र अछाममा वहालवाला मन्त्री शेरबहादुर कुँवरले अग्रता कायम गरिरहेका छन् ।
बझाङको सुरुवाती गणनामा भने नेकपा एसका उम्मेदवार भानुभक्त जोशी नेकपा एमालेका ऐन महर भन्दा पछाडि परेका छन् ।