अन्तर्राष्ट्रिय

१३ देखि १६ वर्षका आठ किशोरी मिलेर ५९ वर्षीय पुरुषको हत्या

By खबरहब

December 22, 2022

एजेन्सी टोरन्टो – क्यानडाको टोरोन्टोमा एक ५९ वर्षीय पुरुषको हत्या गरेको अभियोग ८ जना किशोरीलाई लगाइएको छ ।

आइतबार स्थानीय समयअनुसार मध्यरातमा १३ देखि १६ वर्षका किशोरीले छुरा प्रहार गरेर उनको हत्या गरेको प्रहरीले आरोप लगाएको हो ।

पहिचान नखुलाइएका ती व्यक्ति आक्रमणको समयमा घरबारबिहीनका लागि बनाइएको आवासमा आश्रय लिइरहेका थिए ।

आक्रमणबाट आफू गहिरो रूपमा दुःखी भएको टोरन्टोका मेयर जोन टोरीले बताए ।

आइतबार मध्यरातमा एक व्यक्तिलाई छुरा प्रहार गरेको थाहा पाएपछि स्थानीयले आपत्कालीन सेवाहरूलाई जानकारी दिएको टोरन्टो प्रहरीले जनाएको छ ।

उनको अस्पतालमा मृत्यु भएकको थियो । उनको पेटमा चक्कु प्रहार भएको छ ।

क्यानेडेली कानुनअन्तर्गत पहिचान गोप्य राखिएका ती किशोरीलाई आक्रमण भएको क्षेत्रमा पक्राउ गरिएको र उनीहरुबाट हतियार जफत गरिएको छ ।

उनीहरू सामाजिक सञ्जालका माध्यममार्फ भेट गरेका थिए र उनीहरूमध्ये तीन जनाको यसअघि नै प्रहरीसँग सम्पर्क रहेको बताइएको छ । आक्रमणको साँझ एउटा विवादमा संलग्न रहेको पनि प्राप्त विवरणमा जनाइएको छ।