फाइल फोटो

ब्रेकिङ स्टोरी

सांसद्‌को शपथअघि सर्वदलीय बैठक, के हुन्छ छलफल?

By खबरहब

December 22, 2022

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभाका २७४ जना सांसदहरुको शपथअघि सर्वदलीय बैठक बस्दैछ।

ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि सर्वदलीय बैठक आह्वान गरेका हुन्।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकरहलमा मध्याह्न १२ बजे शुरु हुनेछ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटै दल सहभागी हुनेछन्।

प्रतिनिधिसभाका सदस्यहरूको शपथ गराउनेबारे जानकारी बाहेक कुनै छलफल नहुने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन्।

त्यसपछि दिउँसो १ बजे प्रतिनिधिसभाका अन्य २७४ जना नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य जबराले शपथ खुवाउने कार्यक्रम रहेको प्रवक्ता पाण्डेले बताए।

राष्ट्रपतिले संसद् बैठक आह्वान गरेपछि सभामुखको चुनाव नहुन्जेलसम्म जेष्ठ सदस्यले नै बैठक सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ।

पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।