तस्वीर- एपी

अन्तर्राष्ट्रिय

विदेशी भूमिमा अवैध चिनियाँ प्रहरी चौकी, सुरक्षा निकायहरु चिन्तित

By खबरहब

December 22, 2022

काठमाडौँ- चीनले अरु देशहरुमा अवैध तरिकाले प्रहरी चौकी स्थापना गरिरहेको पाइएको छ । अन्य मुलुकका नागरिकलाई निशाना बनाउन एवम् विदेशमा रहेका चिनियाँ नागरिकलाई नियन्त्रण र निगरानी गर्नका लागि चीनले विदेशी भूमिमा अवैध प्रहरी चौकी स्थापना गरेको हो ।

चीनले दर्जनौँ देशहरुमा समानान्तर प्रहरी संयन्त्र बनाइरहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भागेर विदेश पुगेका संदिग्धलाई पक्राउ गर्न र प्रहरी गतिविधमा सहकार्य गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनको स्थापना गरिएको छ । यसबाहेक द्विपक्षीय सुपुर्दगी सन्धीमार्फत् पनि विदेश भागेका संदिग्ध अपराधीलाई पक्राउ गरिन्छ ।

यद्यपि चीनले भने विदेशमा रहेका आफ्ना नागरिक पक्राउ गर्न अवैध तरिका अपनाउने गरेको छ । स्पेनमा आधारित रहेको ‘सेफगार्ड डिफेन्डर्स’ नामक संस्थाले हालै सार्वजनिक गरेको २१ पृष्ठ लामो प्रतिवेदनमा चीनले विदेशी भूमिमा प्रहरी चौकी स्थापना गरेको उल्लेख छ ।

विदेशी भूमिमा प्रहरी चौकी स्थापना गर्ने अभियान सन् २०१८ मा सुरु भएको जनाइएको छ । ‘सेवा केन्द्र’ नाम दिइएका यस्ता प्रहरी चौकीहरुले सुरुसुरुमा विदेशी भूमिमा ठगी एवम् दूरसञ्चार ठगीमा संलग्न चिनियाँ नागरिकविरुद्धको कारवाहीको कार्य गर्ने गरेको चिनियाँ दाबी छ ।

अहिले भने चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका विरोधी र आलोचकहरुलाई तह लागाउनका लागि र उनीहरुको निगरानी गर्न यस्ता चौकीहरुको प्रायोग हुने गरेको एएनआईले जनाएको छ ।

उक्त प्रतिवेदनमा सन् २०२१ को अप्रिल महिनाबाट सन् २०२२ को जुलाई महिनासम्म यीता २ लाख ३० हजारभन्दा धेरै विदेशमा रहने चिनियाँलाई स्वदेशमा कारवाही खेप्नका लागि ‘राजी गराइएको’ उल्लेख छ ।

एएनआईसँग कुरा गर्दै विश्व उइगुर कंग्रेसकी राहिमेले भने समाचारमा घटना सार्वजनिक हुनुअघि नै विदेशी भूमिमा विरोधी एवम् आलोचकलाई स्वदेश फर्कन चिनियाँहरुले करकापमा पार्ने गरेको विषयमा आफूहरु जानकार रहेको बताएकी छिन् । यद्यपि सुरुमा प्रहरीको रुपमा नभई व्यापारी वा कूटनीतिज्ञको भेषमा चिनियाँहरु आउने गरेको उनको भनाइ छ ।

प्रतिवेदनमा विदेशमा बसोबास गर्ने चिनियाँहरुको संगठनहरु पनि कम्युनिष्ट पार्टीसँग आबद्ध हुने गरेको उल्लेख छ । चीनले विदेशी भूमिमा प्रहरी चौकीको स्थापना गरेको विवरणबाट युरोप, अमेरिका र क्यानाडाका सरकार एवम् सुरक्षा निकायहरु आश्चर्यमा परेको बताइएको छ ।

न्यूयोर्कजस्ता सहरमा स्थापित अवैध चिनियाँ प्रहरी चौकीका कारण अमेरिका चिन्तित रहेको अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले जनाएका छन् । यसबारे अमेरिका र क्यानाडासहित युरोपेली मुलुक नेदरल्याण्ड्सले पनि छानबिन अघि बढाएको जनाइएको छ ।