मुख्य समाचार

एमसीसी पास गर्न अब ‘कांग्रेस-एमाले गठबन्धन’

By खबरहब

February 23, 2022

काठमाडौं – सत्ता गठबन्धनमा सहभागी दलले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) पारित गर्न साथ नदिने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तता बढेको छ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर भए पनि एमसीसी पारित गर्ने चेतावनी सत्ता गठबन्धनका नेतालाई दिइसकेका छन्।

केही दिनअघि बालुवाटारमा भएको सत्ता गठबन्धन दलको बैठकमा देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धन जोगाउने भए एमसीसीमा साथ दिन भनेका हुन्। प्रचण्ड र नेपालले भने देउवाको यो भनाइलाई सहज रुपमा स्वीकार गर्ने अवस्था देखिएको छैन। देउवाको चेतावनीपछि दुवै पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। सत्तामा बसेर सरकारले गरेको सम्झौता कार्यान्वयनमा साथ नदिएको भन्दै देउवाले गठबन्धनका लागि प्रतिपक्षी दल एमालेतर्फ हात बढाएका हुन्।

केही दिनअघि एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका देउवाले मंगलबार बालुवाटारमा ओलीसँग सहकार्यको विषयमा गम्भीर छलफल गरेका छन्। सत्ता सहयात्री नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले एमसीसी पारित गर्न साथ नदिने भएपछि देउवाले विकल्प खोजेका हुन्।

देउवाले प्रमुख प्रतिपक्षी दलसँग एमसीसी पारित गर्नदेखि सत्ता सहकार्यसम्मका प्रस्ताव अगाडि सारेका छन्। एमालेले भने एमसीसीमा साथ दिने तर त्यो भन्दा अगाडि लामो समयदेखि संघीय संसदमा आफूहरुले उठाएको आवाजको सम्बोधन हुनुपर्ने अडान लिँदै आएको छ। नेकपा एमालेले कारबाही गरेका १४ सांसदको सूचना सभामुख अग्निप्रसाद सापकोटाले प्रकाशित नगरेको भन्दै एमालेले संसदमा नाराबाजी गर्दै आएको छ। मंगलबार बालुवाटार भेटमा समेत एमाले अध्यक्ष ओलीले यही अडान दोहोर्याएका छन्।

एमसीसी पारित गर्न नयाँ समीकरण बन्नुपर्छ : बाबुराम

सत्ता गठबन्धनमा खटपट भइराखेको बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने एमसीसी पास गर्नकै निम्ति भए पनि नयाँ समीकरण बन्नुपर्नेमा जोड दिएका छन्। यो विन्दुमा आएर एमसीसी पास नगर्दा देश ठूलो सामरीक द्वन्द्वमा फस्ने भन्दै उनले यस्तो बताएका हुन्।

सत्ता गठबन्धनका सबै दलले एमसीसीको पक्षमा भेट हाल्नुपर्ने र त्यो नगरे नयाँ समीकरण बन्नुपर्ने उनको भनाइ छ। एमसीसी सम्झौताको जिम्मा सबै दलले लिनुबाहेक अर्को विकल्प नभएकोसमेत उनले प्रष्ट पारेका छन्।

‘एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो। सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री–बाहिरी स्वीकार्यता रहन्न। यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ’, बाबुरामले ट्वीटमा लेखेका छन्, ‘कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयॉ समीकरण बन्नुपर्यो। अर्को बाटो छैन।’

बालुवाटार र बालकोट भेटको अन्तर्य

फागुन ५ गते साँझ प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवासहित बालकोट पुगे। एमाले अध्यक्ष ओलीसँग बालकोटमा देउवा र काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुबीच करिब दुई घण्टा छलफल भयो। तर, छलफलका विषय सार्वजनिक भएनन्।

मंगलबार साँझ बालुवाटारमा भएको भेटको विषयसमेत औपचारिक रुपमा सार्वजनिक भएन। ओलीसँगको भेटको विषयमा प्रधानमन्त्रीको सचिवालय मौन छ। देउवाले नजिकका नेतालाई साथमा लिएर ओलीसँग मंगलबार गरेको भेटलाई महत्वका साथ हेरिएको छ। यसलाई कतिपयले नयाँ सत्ता समीकरणको सुरुवातको रुपमा हेरेका छन्।

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुनेछ। प्रधानमन्त्री देउवा सामान्य छलफलपछि एमसीसी पारित गर्ने योजनामा छन्। त्यसमा एमालेले साथ दिए एमसीसी पारित भएसँगै सत्ता समीकरण फेरिने देखिन्छ। यसले अन्तत माओवादी र नेकपा एसलाई आगामी चुनावमा ठूलो घाटा हुने देखिन्छ।