ब्रेकिङ स्टोरी

गठबन्धनबाट बहिर्गमनमा प्रचण्ड र माधव नेपाल

By खबरहब

February 23, 2022

काठमाडौँ – एमसीसी पारित गर्ने विषयमा दोहोरो चरित्र देखाएपछि कांग्रेसले माओवादी र नेकपा एकिकृत समाजवादीलाई सत्ता गठबन्धनबाट अलग्याउने तयारी गरेको छ । सत्ता सहयात्री भएर पनि एमसीसीका विषयमा प्रतिपक्षीजस्तो व्यवहार गरेपछि कांग्रेस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसँग चिढिएको हो ।

यदि एमसीसी पारित गर्ने विषयमा अझै प्रचण्ड र माधव नेपालको ढुलमुले राजनीति कायम रहे कांग्रेस एमालेसँग निर्णायक रुपमा सत्ता गठबन्धन गर्ने निष्कर्षमा पुगेको छ । मंगलबार बेलूकी बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टू वान’ निर्णायक वार्ता भएको थियो ।

सोही वार्ताले गठबन्धनबाट प्रचण्ड र माधव नेपाललाई निकालेर एमालेका लागि सरकारको ढोका खुला राख्ने सहमति भएको बालुवाटार स्रोत बताउँछ । तर बाहिर एमालेले एमसीसी पारित गर्नका लागि सभामुखलाई कारबाही गर्नुपर्ने, माधव नेपालको पार्टीमा गएका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राखेको छ ।

एमसीसी पारित गर्ने सहमति नगरे मन्त्री बर्खास्तीमा पर्ने

तर भित्री रुपमा केन्द्रमा देउवा सरकारलाई सघाउने र प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउने विषयमा तीव्र छलफल भइरहेको बताइएको छ । केही दिनभित्रै प्रचण्ड र माधव नेपालले गठबन्धन जोगाउने प्रयासस्वरुप देउवासँग एमसीसी पारित गर्ने विषयमा ठोस सहमति नगरे उनीहरुका मन्त्री बर्खास्तीमा पर्नेछन् ।

एमालेले चाहेको खण्डमा तत्काल माओवादी र नेकपा समाजवादीका मन्त्रीलाई बर्खास्त गर्न पनि देउवा तयार देखिएका छन् । तर सत्ता गठबन्धनभित्रै र प्रतिपक्षी एमालेसँग देउवा गहन रुपमा छलफलका साथै लिखित सहमति नै खोजिरहेका छन् । खासगरी एमसीसी पारित गर्ने विषयमा जसले पहिले लिखित सहमति दियो, उसैसँग सत्ता सहयात्रा गर्ने देउवा अन्तिम निष्कर्षमा पुगेका छन् ।

एमसीसीका विषयमा सत्ता सहयात्री भएर पनि दोहोरो चरित्र देखाएपछि देउवा प्रचण्डसँग क्रुद्ध बनेका छन् । एमालेसँग छुट्टिएर फेरि एमालेकै शैली देखाएका माधव नेपालसँग पनि देउवा बिच्किएका छन् ।

प्रचण्ड र माधव नेपाललाई निकाल्ने तयारी

एमसीसीलाई वर्षौदेखि गिजोलेको, बाहिर राष्ट्रवादको नारा देखाएर अमेरिकासँगको सम्बन्धलाई नै धरापमा पार्ने काम गरेपछि देउवाले प्रचण्ड र माधव नेपाललाई गठबन्धनबाट निकाल्ने तयारी गरेका छन् ।

एमसीसीका विषयमा एमालेसँग गठबन्धन गर्नेबित्तिकै प्रचण्ड र माधव नेपाल स्वतः बाहिरिनेछन् । अहिले प्रचण्ड र माधव नेपालको ठाउँमा ओली आउनेछन् । त्यसरी आगामी चुनावसम्म पनि कांग्रेस र एमाले मिलेर देशभर पकड जमाउने र माओवादीलाई इतिहासकै गम्भीर अस्तित्व संकटमा पार्ने रणनीति छ ।

अहिले पनि माओवादीको अवस्था देशैभर नाजुक छ । संगठन अस्तव्यस्त छ । नेता कार्यकर्ताहरु कांग्रेस र एमालेतिर लागेका छन् । प्रचण्ड आफुबाहेक अरुलाई शक्ति दिनै नचाहने प्रवृत्तिले माओवादी आगामी चुनावबाट पत्तासाफ हुने अवस्थामा पुगेको छ ।

बिहीबार वा शुक्रबारसम्म प्रचण्डले भनेजस्तै सत्ता गठबन्धन नटुटाउन एमसीसी पारित गर्ने विषयमा शतप्रतिशत सहमति नगरे नेपाली राजनीतिमा माओवादी थप किनारामा पुग्नेछ । जसको सिधा असर प्रचण्ड र माधव नेपाललाई पर्नेछ भने एमालेलाई सरकारमा जाने ढोका खुल्नेछ ।