समाचार

काठमाडौँ–तराई द्रुतमार्ग ठेक्काको यथार्थ विवरण पेश गर्न समितिको निर्देशन

By खबरहब

February 23, 2022

काठमाडौँ– संसदीय समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाको प्याकेज नम्बर ४ र ५ को ठेक्का प्रक्रियाको यथार्थ विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजनाको प्याकेज नम्बर ४ र ५ को ठेक्का प्रक्रिया पूर्वतयारीको कार्य सम्पन्न नगरी सुरु गरेको र कानुनसम्मत् नभएको भनी प्रश्न उठेको भन्दै यसको यथार्थ विवरण सात दिनभित्र समितिमा पेश गर्न रक्षा मन्त्रालय र आयोजनालाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले फागुन २६ र २७ गते काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

बैठकले आयोजना अध्ययन गठित उपसमितिको म्याद दुई महिना थप गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा आयोजनाका निर्देशक प्राविधिक सहायक रथी विकास पोखरेलले खोकनामा भएको जग्गा समस्या समाधानको प्रयास भइरहेको जनाकारी दिए ।

बैठकमा समितिका सदस्यहरूले आयोजनामा देखिएका समस्याहरू समाधान गर्दै तोकिएकै समयमा निर्माण सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए ।

२०८१ को पुस महिनासम्ममा आयोजनाको निर्माण सक्ने सेनाको तयारी छ ।