अन्तर्वार्ता

जलवायु परिवर्तनले जलविद्युतको भविष्य खतरामा पर्दैछ

By कञ्चनमणि दीक्षित

March 23, 2022

पछिल्लो समय जलवायु परिवर्तन नेपालका लागि मुख्य चुनौति बनेको छ । विकसित देशहरुले कार्बन उत्सर्जनलाई झन् झन् बढाएपछि नेपाल जस्ता संवेदनशिल र विकासशील देशहरुलाई त्यसको सोझै असर गरेको हो । हिमाल, पहाड र तराईको साझा भौगोलिक बनावट रहेको नेपालमा जलवायु परिवर्तनको असरको सुरुवात भएको छ । जसले आगामी दिनमा अझै ठूलो क्षति र संकट निम्त्याउने सम्भावना छ । जलवायु परिवर्तनले गर्दा पुनर्स्थापना क्षेत्रको विकास र त्यसबाट देशको अर्थतन्त्रमा पर्न सक्ने क्षति झन् डरलाग्दो छ । जलवायु परिवर्तनको बढ्दो असर र चुनौतिका विषयमा खबरहबका लागि कञ्चनमणि दिक्षितले पुनर्स्थापना विज्ञ डिल्ली घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंशः

ऊर्जा क्षेत्रमा तपाईंले गरेको काम र अनुभवका आधारमा जलवायु परिवर्तन र यसको असरलाई कसरी हेर्नुभएको छ ?

नेपाल हिमाल,पहाड र तराई खण्डमा विभाजित छ । माथिल्लो भागका हिमश्रृंखलाहरू हिम नदीका स्रोतहरू हुन् । यी स्रोतविना हिम नदीको सदावहार वहाब रहन सक्दैन । हिम नदीको बहावको निरन्तरताका लागि हिमालमा हिँउ रहन अनिवार्य हुन्छ । पछिल्लो समय पृथ्वीको तापक्रममा भएको वृद्धिले हामीलाई चुनौति दिइरहेको छ । जसले गर्दा हिमालका हिँउ पग्लेर हिम चुचुराहरू नांगै हुनुका साथै मौसम परिवर्तनका प्रभावहरू देखापर्ने छन् । यसले हिम नदीमा बग्ने पानीको बहाव घट्ने र नदी खोलाहरू मरुभूमिमा परिनत हुन सक्ने खतराको संकेत गरेको छ । हाम्रो सन्दर्भमा हरित ऊर्जा, जलवायु परिवर्तनसँग यी नदीहरूको अन्तर सम्बन्ध छ । हाम्रो ऊर्जा उपभोगमा हरित ऊर्जाको उपभोगको प्रयोग बढाउदै अन्य किसिमका प्रदूषणयुक्त ऊर्जा जस्तैः(वनजंगलबाट आउने दाउरा बाल्ने, कोइला बाल्ने, डिजेलका प्लान्टहरू)बाट निस्कने ऊर्जाका स्रोतहरू कम प्रयोग गर्‍यो भने जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण हुन्छ ।

गोबर, कोइला र दाउराको प्रयोग गर्दा उत्सर्जन हुने हरित गृह ग्याँस सन् २०३० सम्ममा २३ प्रतिशत घटाउने लक्ष्य छ, अहिलेको परिदृश्य हेर्दा यो सम्भव छ ?

यो लक्ष्य प्राप्त गर्ने हो भने धेरै चिजहरूमा विचार पुर्याउनु पर्छ । सरकारले गर्ने पहल, कार्यहरू सन्तुलित हुन आवश्यक छ । खाना पकाउन गोबर, दाउरा, कोइलाको प्रयोग गर्नेहरूलाई सफा ऊर्जाको प्रयोगमा जोड् दिनुपर्छ । सफा ऊर्जा भन्नाले नवीकरणीय ऊर्जा नै हो भनेर भन्न सकिँदैन । डिजेल, कोइला बालेर निकालेको बिजुलीलाई पनि ऊर्जाको रुपमा हेर्दा सफा ऊर्जा नै भन्न सकिन्छ । तर हामीलाई ऊर्जा स्रोत नै सफा ऊर्जा चाहिने हुनाले यी स्रोतहरूलाई विस्थापित गर्ने एउटै मात्र ऊर्जाको स्रोत जलविद्युतको विकासमा वृद्धि गर्नु हो ।

नेपालको जलविद्युत नदीमा बग्ने पानीको क्षमतामा आधरित हुने किसिमको आयोजना बनाउने प्रचलन छ । यसले विद्युत उत्पादनको क्षमता मौसमीको हिसाबले वर्षभरिमा एक्दमै फरक पार्दछ । नदीको बहाव बर्षायाममा भन्दा चैत बैशाखमा कम विजुली उत्पादन हुने प्रकृतिको छ । यो लक्ष्य प्राप्त गर्न दुई वटा उपायहरू छन् । कि त ऊर्जाको रुपमा हेर्दा सफा मात्र भए हुने र स्रोत जे भएनि हुन्छ भनेर आँखा चिम्लनु पर्छ । कि त जलविद्युतको विकास गर्नुपर्छ । जलविद्युतको विकासको लागि विशेष किसिमको योजनाहरू बनाउनु पर्ने हुन्छ । एउटा घरपरिवारको अन्य काममा प्रयोग हुने विजुलीभन्दा बिहान र बेलुकीको खाना पकाउने समयमा पाँच गुणा बढी विद्युतको माग गर्दछ । यो क्षमताको विद्युत आपूर्र्ति गर्न उत्पादन यही अनुरुपको हुनुपर्छ ।

पानीको बहावको आधारमा उत्पादन हुने किसिमका योजना बाटै आपर्ति गर्ने हो भने सरकारले धेरै गुणा बढी जलविद्युतको विकास गर्नु पर्ने हुन्छ । जुन लगानीको हिसाबले अत्यन्तै ठूलो हुन्छ । यसकारण हामीले दैनिक खान बनाउने समय बाहेकको बढी भएको बिजुलीलाई भण्डारण गर्ने खालको आयोजनाहरू निर्माण गर्नुपर्छ । दिउँसो र रातिको समयमा उत्पादन भएको विद्युतलाई हाइड्रोजनको रुपमा लगेर भण्डारण गर्न सकिने प्रविधिहरू आएको हुनाले यस्ता खालका प्रविधिहरूलाई वृद्धि गर्नुपर्छ । यस्तै उत्पादनलाई सन्तुलन गर्ने जस्ता कार्य भयो भने प्रदूषित ऊर्जालाई विस्थापित गर्न सक्छौ र सरकारले सफा ऊर्जामा लिएको लक्ष्य पुरा गर्न सक्छौ ।

नेपालमा जलविद्युतको धेरै सम्भावना हुदाँ हुँदै हरितगृह ग्याँसको उत्सर्जन गर्ने वायो ग्याँसको उत्पादनतर्फ जानु कत्तिको उचित देखिन्छ ?

वास्तवमा नेपालमा वायो ग्याँसको आवश्यक छैन । नेपालमा जुन खालको खुल्ला बजार आर्थिक स्वतन्त्रता छ यसले पनि केही भूमिका खेलेको छ । मुख्य कुरा सरकारको अन्तर सरकारी निकायहरू बिचको समन्वयमा अभाव देखिन्छ । नेपाल सरकारको दिघो विकास लक्ष्यअन्तर्गत सन् २०३० भित्रमा पन्ध्र हजार मेघावट जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ भने यसै अवधि भित्र पाँच सय वटा ठूला खालका वायो ग्याँसहरू बनाउने प्रविधिको विषय खासै सान्दर्भिक देखिँदैन । ठूला वायोग्याँस प्लान्टहरूबाट एल.पी.जीको सिलिन्डरमा एल.पी.जी. ग्याँस भर्नुका सट्टा वायो ग्याँसबाट आएको ऊर्जा भरेर उपभोक्ता सामु लैजाने भए एक हदसम्म सकारात्मक प्रभाव नै दिन्छ । तर वायो ग्याँस आफैले हरित गृह ग्याँस उत्सर्जन गर्ने हुनाले यो प्रविधिको धेरै बढवा दिनुपर्ने देखिँदैन ।

नेपाल सरकारको काम गर्ने तरिका के छ भने, तीन-चार वटा विधाहरू बिचको अन्तरसम्बन्ध, ती विधाहरूको कार्य विभाजन, नेपाल सरकारको स्रोत साधान, योजना जस्ता विषयहरूमा समन्वय नभई आ–आफ्नो ढंगबाट गरेको देखिन्छ । राष्ट्रिय नीति र रणनीति प्राप्ति कसरी गर्ने हो र योजना माग्ने कार्यमा हरेक मन्त्रालय, विभाग, कार्यन्वयन गर्ने शाखा महाशाखाहरूको प्रतिबद्धता पाइदैन । नेपालमा ऊर्जाका लागि ८२ प्रतिशत दाउरामा निर्भर भइरहेको अवस्थामा यसको बारेमा वन मन्त्रालय, वैैकल्पिक पुनर्स्थापना प्रवद्र्धन केन्द्र, ऊर्जा मन्त्रालय, योजना आयोग, विद्युत मन्त्रालयले आ–आफ्नो तरिकाबाट भनिरहेको जुन अवस्था छ यसको लागि एकीकृत योजना बनाएर एउटै लक्ष्य प्राप्तिका लागि लाग्नुपर्छ । सरकारले यस अवधिमा सात सय किलोवाट घण्टा प्रति व्यक्ति ऊर्जा खपत पुर्याउने भनेको छ । यदि यही अनुसार पुर्याउने हो भने वायोग्याँस प्लान्टहरूको हामीलाई खासै जरुरत हुँदैन। यसलाई दोस्रो तेस्रो प्राथमिकतामा राखेर नेपालमा सन्तुलित हिसाबको जलविद्युतको विकास गर्नुपर्छ ।

हाम्रोमा अर्को जटिलता के छ भने ठूला आयोजना बनेपछि बढी लाभ हुन्छ भन्ने धारणा छ । जलविद्युत क्षेत्रमा निजी क्षेत्र सशक्त भएर अगाडि आइरहेको छ । सार्वजानिक क्षेत्रहरूको जलविद्युतमा कमजोर भूमिका देखिँदै आएको छ । विद्युत प्राधिकरणले जलविद्युत आयोजना बनाउने काम नै गरेको छैन । नेपाल सरकारले स्रोत र साधानमा लगानी गर्दा पनि निजी कम्पनीहरूमार्फत काम गरेको देखिन्छ । अन्तिममा विद्युत प्राधिकरण विद्युत किनेर वितरण गर्ने निकायको रूपमा विकास हुदै गइरहेको छ । जसले गर्दा समग्र विद्युत क्षेत्रको नेतृत्वदायी निकाय कुन हो भनी प्रश्न उठिरहेको अवस्था छ ।

सौर्य ऊर्जा एउटा वैैकल्पिक ऊर्जाको रूपमा मानिएको थियो, अहिले ओझेलमा परेको हो ?

सौर्य ऊर्जा एउटा महत्वपूर्ण प्रविधि हो । तर नेपालको सन्दर्भमा सौर्य ऊर्जा हाम्रो प्रणालीलाई सन्तुलनमा राख्न आवश्यक पर्ने परिमाणमा उत्पादन गर्नु उपयोगी हुन्छ । तर हाम्रो लगानीलाई त्यतातिरभन्दा जलविद्युतलाई फोकस गर्नु राम्रो हुन्छ । जलविद्युतको आयु धेरै लामो समयसम्म हुन्छ भने सौर्य ऊर्जाको सबै प्रविधिहरू विदेशबाट ल्याउनुपर्छ र यसको आयु २५ वर्षसम्मको मात्र हुन्छ । हरेक २५ वर्षमा फेर्दै गरेर चार पटकसम्म फेर्दा एउटा जलविद्युत आयोजना नै निर्माण गर्न सकिन्छ । अर्को पाटो भनेको यसको आयु सकेपछि यसको पुरानो सामाग्रीहरूलाई वातावरणीय हिसाबले कसरी व्यवस्थापन गर्ने भन्ने अको प्रश्न आउन सक्छ । यसकारण सौर्य ऊर्जा भन्दा जलविद्युत नै उपयुक्त देखिन्छ ।

जलविद्युतमा हामीले विविधिकरण गर्नुपर्छ । विविधिकरण भनेको भण्डारण गर्ने प्रोजेक्ट बनाउने, ‘रन अफ रिभर’का ठूला प्रोजेक्ट बनाउने र साना प्रोजेक्टहरूको पनि संरक्षण गर्नु हो । हामी सँग ३२ मेघावाट क्षमता भएका दुई हजार हाराहरीको संख्यामा लघु जलविद्युत आयोजनाहरू छन् । सरकारी व्यवहारले लघु जलविद्युत आयोजनाहरू लगभग बन्द गर्ने अवस्था छ भनेर घोषणा गर्दा पनि हुन्छ । नागरिक, उपभोक्ता, समुदायले मात्र यसलाई संरक्षण गर्दै आएको अवस्था छ । साना आयोजनाहरूलाई अझै धेरै ठाँउमा बनाई विकेन्द्रिकरण गर्नुपर्छ । यस्तो भयो भने हामीलाई अधिक उपयोग हुने समयका लागि भाण्डारण प्रोजेक्टहरूले दिन्छ । ठूला आयोजनाहरू बनाउँदा वातावरणीय पक्ष, मौसम परिवर्तनका सबै पक्षहरूलाई ध्यानमा राखेर बनाउदै गर्‍यो भने सौर्य ऊर्जाको विकास गर्न हामीलाई केही समय सम्म हतार हुँदैन ।

ठूला जलविद्युत आयोजना बनाउँदा नदीको बहावलाई पुरै डाइभर्ट गरेर खोला नै पुरै सुकाउने खालका समस्याहरू छन् । त्यसमा नियमनकारी, अनुगमनको भूमिका ज्यादै कमजोर देखिएको छ । न्यूनतम कानुनले तोकिएको परिमाणमा नदीको बाहावलाई निरन्तरता र वातवरणीय हिसाबले उपयुक्त हुने गरी नदीको बहावको सुनिश्चिता गरेर बाँकी पानीलाई जलविद्युतमा प्रयोग गर्न सक्यौँ भने हामीलाई दिर्घकालसम्म फाइदा हुन्छ ।

जलवायु परिवर्तनका असरले हिमालको हिउँ पग्लने क्रम वृद्धि भइरहेको अवस्थामा जलविद्युतको भविष्य कस्तो हुन्छ ?

हिमालहरू काला पत्थरमा परिणत भएमा हिम नदीहरू सुक्नेछन् र हाम्रो जलविद्युतको भविष्य अवश्य खतरामा पर्नेछ । यसकारण हामीले हाम्रा हिमालहरू संरक्षण गर्ने अभियानमा लाग्नुपर्छ । यसको लागि नेपालले अन्तराष्ट्रिय मञ्चहरूमा तापक्रम घटाउने र मौसमलाई सन्तुलित राख्नलाई र औद्योगिक मुलुकहरूलाई यो अवस्था सिर्जना गर्न नदिन विशेष किसिमको भूमिका खेल्नुपर्छ। हिमाल बचायौँ भने विश्व समुदयलाई फाइदा पुग्छ भन्ने खालका कुराहरू उठान गरी आफ्नो प्रष्ट धारणा र योजनाहरू बनाई विश्व समुदयको ध्यानआकर्षण गर्न सक्नुपर्छ। नेपालले बेलाबखतमा कुराहरू उठान गरे पनि प्रभावित गराउन सकेको छैन। वायु प्रदूषणमा विशेष भूमिका खेल्ने धनी मुलुकहरू, औद्योगिक मुलुकहरूलाई नियन्त्रणमा राख्न हामी जस्ता प्रत्यक्ष असर पर्ने मुलुकहरू सहकार्य गरेर जाँदा राम्रो हुन्छ । यसले गर्दा हाम्रो जलविद्युत, हिमाल र समुन्द्रको छेउमा भएको बस्ती, सहरहरूको पनि संरक्षण हुन्छ । जसले गर्दा भविष्यमा आउने ठूलो विपत्तिबाट मानव समुदय जोगिन सक्छ ।

प्रस्तुति : पासाङ लामा ह्योल्मो