समाचार

काठमाडौँ विश्वका प्रमुख १० प्रदूषित सहरभित्र

By खबरहब

March 23, 2022

जेनेभा – राजधानी काठमाडौँ विश्वका प्रमुख १० प्रदूषित सहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा राजधानी काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ ।

त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौँ नम्बरमा छ । तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी सहर बनेको छ ।

दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको हो । विश्वका १०० प्रदूषित सहरहरूमध्ये ६३ भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, देशका हिसाबले बङ्गलादेश विश्वकै सबैभन्दा प्रदूषित साबित भएको छ । प्रदूषित देशको सूचीमा चाँद  र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् भने पाँचौँमा भारत छ ।

आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन् । सर्वेक्षण गरिएका सहरहरूमध्ये केबल ३ दशमलव ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए ।

११७ देशका ६ हजार ४७५ सहरहरूको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ ।

कम्तीमा ९३ सहरहरूको पीएम २ दशमलव ५ तह विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो । तर, केही देशले प्रदूषण नियन्त्रण गर्न सफलता प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । ‘केही देशले प्रदूषण कटौतीमा ठूलो प्रगति गरिरहेका छन्’, आइक्यूएयरकी विज्ञान प्रबन्धक क्रिष्टि श्रोडरले भनिन् ।

‘चीनले केही धेरै ठूला संख्याहरूबाट सुरु गरेको थियो  । समयसँगै उनीहरुले निरन्तर घटाउँदै गएका छन् । तर, संसारमा यस्ता ठाउँहरू पनि छन् जहाँ यो उल्लेखनीय रूपमा खराब हुँदै गइरहेको छ’, उनले भनिन् ।

विश्वका दश प्रदूषित देश

१.बङ्गलादेश २.चाँद ३.पाकिस्तान ४.ताजकिस्तान ५.भारत ६.ओमन ७.क्रिगिस्तान ८.बहराइन ९.इराक १०.नेपाल