तस्वीर- तास

अन्तर्राष्ट्रिय

रुसले कहिले आणविक हतियार प्रयोग गर्छ ? पुटिनका प्रवक्ता यसो भन्छन्

By खबरहब

March 23, 2022

काठमाडौं- रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । युक्रेनमा जारी रुसी आक्रमणको सन्दर्भमा क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले मुलुकको अस्तित्वमाथि नै खतरा आएमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका हुन् ।

पेस्कोभले भने, ‘हामीसँग घरेलु सुरक्षाको अवधारणा छ र यो सार्वजनिक छ । आणविक हतियार प्रयोग गर्न सक्ने सबै अवस्थाहरु पढ्न सक्नुहुन्छ । तसर्थ, हाम्रो देशको अस्तित्वमाथि खतरा भएमा हाम्रो अवधारणा अनुसार यसलाई प्रयोग गर्न सकिन्छ ।’ सीएनएन इन्टरनेसनलसँगको एक अन्तरवार्तामा उनले भने । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सन्दर्भमा आणविक विकल्प प्रयोग गर्दैनन् भन्नेमा ‘विश्वस्त’ हुनुहुन्छ भन्ने सिएनएनका प्रश्नमा पेस्कोभको सो भनाई आएको हो ।

युक्रेन हमलाका क्रममा रुसी सेनाले आम विनाशकारी हतियार प्रयोग गर्न सक्ने चिन्ता व्यक्त हुँदै आएका छन् । युक्रेन आक्रमणको सुरुआती दिनहरुमा पुटिनले आफ्नो मुलुकको आणविक बललाई तैनाथ रहन निर्देशन दिएका थिए ।