युक्रेनमाथि तत्काल विजय हासिल गर्ने उद्देश्यसहित सैन्य आक्रमणमा उत्रेको रुसले युद्धको महँगो मूल्य सामना गर्नुपर्ने देखिएको छ । युद्धसम्बन्धी अध्ययन गर्ने विभिन्न संस्थाहरूको अध्ययनहरूले युक्रेन आक्रमण रुसका लागि अत्याधिक महँगो गरिरहेको र कठोर आर्थिक नाकाबन्दी सामना गरिरहेको रुस आफै कंगाल हुनसक्ने आँकलन गरेका छन् ।
आक्रमणबाट ठूलो सैन्य क्षति भोगीरहेको रुसले युद्धमा बढेको खर्चका कारण आर्थिक विनाश व्यहोरिरहेको तथ्यांक आएको छ । युक्रेन आक्रमणको सजायस्वरूप अमेरिका, युरोपेली संघ लगायत अन्य सहयोगी राष्ट्रहरूले रुसमाथि अर्थतन्त्र नै ध्वस्त पार्ने कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । पश्चिमा प्रतिबन्धहरूले रुसको आर्थिक अवस्था तहसनहस बनाइदिएको छ ।
रुसले गत २४ फेब्रुअरी देखि युक्रेनमाथि आक्रमण गरिरहेको छ । केही दिनको अन्तरालमै रुसले युक्रेनलाई काँचै खाइहाल्ने अनुमानका विपरीत झण्डै महिना बितिसक्दासम्म पनि अपेक्षाअनुसारको नतिजा हासिल गर्न सकेको छैन ।
स्विडेनस्थित रक्षा मामिलामा दखल राख्ने स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको पछिल्लो तथ्यांक अनुसार रुसको रक्षा खर्च ६१ अर्ब अमेरिकी डलर प्रतिवर्ष छ । रुसको तुलनामा युक्रेनको रक्षा खर्च १० गुणा कम करिब ६ अर्ब डलर प्रतिवर्ष मात्रै छ ।
हुन पनि युक्रेनी सेना र युक्रेनी जनताले निकै सहनशीलता र बहादुरीका साथ अमेरिकापछि विश्वकै दोश्रो सबैभन्दा शक्तिशाली सैनिक क्षमता भएको विश्वास गरिने रुसी फौजको सामना गरिरहेका छन् । यतिसम्म कि रुसी फौजले आफ्नो सीमाभन्दा केबल ४० किलोमिटरको दूरीमा रहेको खार्किभ शहरमा समेत नियन्त्रण जमाउन सकेको छैन ।
अर्कोतर्फ युद्ध जति जति लम्बिँदै गइरहेको छ, रुस सरकार र रुसी फौजको व्यग्रता र निराशा पनि उति उति बढ्दै गइरहेको छ । फलस्वरुप रुसी फौज आवासीय भवन, नाटकघर र अस्पतालजस्ता गैरसैनिक एवम् संवेदनशील क्षेत्रमा जथाभावी आक्रमणमा उत्रेको छ ।
लम्बिँदो युद्धले रुसको युद्धखर्च पनि बढाइरहेको छ । अहिलेको समयमा युद्ध सञ्चालन गर्न निकै ठूलो धनराशी खर्च गर्नुपर्ने हुन्छ । ब्राउन विश्वविद्यालयको तथ्यांक अनुसार सन् २००१ देखि सन् २०२१ सम्म अमेरिकाले अफगान युद्धमा ५८ खर्ब अमेरिकी डलर खर्च गरेको थियो । अर्थात् करिब ३० करोड अमेरिकी डलर प्रतिदिन ।
तर, अहिले रुसले हालसम्म युक्रेन आक्रमणमा कति खर्च गर्यो होला ? ठ्याक्कै यति नै भनेर यसको यकिन जवाफ पाउन निकै कठिन छ । यद्यपि युक्रेन आक्रमणको शुरुआती दिनहरुमा सेन्टर फर इकोनोमिक रिकभरी, सिभिटा र इजी बिजनेशले यस विषयमा एक अध्ययन गरेको थियो । उक्त अध्ययनअनुसार रुसले युद्धका प्रथम चार दिनमा ७ अर्ब डलरको हानी व्यहोरेको थियो । अर्थात् झण्डै पौने दुई अर्ब प्रतिदिन ।
सोही अध्ययनलाई उद्धृत गर्दै सिभिटाले जनाएअनुसार ‘बन्दोबस्तीका सामान, मानव श्रोत, रकेट लन्चरजस्ता खर्च जोड्ने हो भने रुसको दैनिक युद्धखर्च २० देखि २५ अर्ब डलर हुन आउने देखिएको छ ।’
यही अध्ययनलाई आधार मानेर पौने दुई अर्ब डलरको उदार अनुमान गर्दा पनि चार साता अर्थात् २८ दिनमा रुसले औसत ४९ अर्ब डलर खर्च गरिसकेको छ । यो भनेको विश्व बैंकको पछिल्लो तथ्यांक अनुसार झण्डै ३४ अर्ब डलर रहेको नेपालको कूल ग्राहस्थ उत्पादनको झण्डै डेढ गुणा हो ।
यसबाहेक युक्रेनी फौजको आक्रमणबाट रुसले हतियार, लडाकु विमान, बख्तरबन्द गाडी, ट्यांकजस्ता हतियार र अन्य सैनिक उपकरण पनि गुमाइरहेको छ । यसबाट रुसलाई परेको आर्थिक हानीको पनि बेग्लै हिसाब छ ।
युक्रेनी सेनाले दिएको जानकारीअनुसार आक्रमण थालेयता हालसम्म रुसले ४९८ ट्यांक, १५ सय ३५ बख्तरबन्द गाडी, २४० आर्टिलरी, ९७ लडाकु विमान, १२१ हेलिकोप्टर गुमाएको छ ।
युरोपेली कन्सल्टेन्सीका अनुसार औसत रुसी लडाकु विमानलाई ८ करोड ५० लाख डलर पर्छ । यसअनुसार लडाकु विमान गुमाएबाट मात्रै रुसलाई ८ अर्ब २४ करोड डलर हानी भएको छ । त्यस्तै, सोही तथ्यांक अनुसार औसतमा प्रतिएकाई हेलिकोप्टरलाई १ करोड ४० लाख, आर्टिलरीलाई १५ लाख ६६ हजार, ट्यांकलाई २३ लाख ६८ हजार र बख्तरबन्द गाडीलाई ९ लाख ८१ हजार डलर पर्छ ।
यसअनुसार रुसलाई त्यहाँ हेलिकोप्टर गुमाएबाट झण्डै १ अर्ब ७० करोड डलरको नोक्सान भएको छ भने ट्यांक गुमाएबाट १ अर्ब १८ करोड डलर, आर्टिलरी गुमाएबाट ३७ करोड ५८ लाख र बख्तरबन्द गाडी गुमाएबाट १ अर्ब ५० करोड हानी भइसकेको छ । समग्रमा हिसाब गर्दा युक्रेनमा गुमाएका सैनिक उपकरणबाट मात्रै रुसलाई झण्डै १३ अर्ब डलरको नोक्सान भइसकेको छ ।
यसबाहेक युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसमाथि पश्चिमा मुलुक र उनीहरुका अरु साझेदारहरुले कठोर नाकाबन्दी र प्रतिबन्ध लगाइरहेका छन् । यसबाहेक विभिन्न बहुराष्ट्रिय कम्पनीहरुले पनि रुसमा आफ्नो कारोबारलाई बन्द गर्ने घोषणा गरेका छन् । यसबाट रुसको अर्थतन्त्रमा परेको असरको हिसाब बेग्लै छ ।
जेपी मोर्गन बैंकलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशित हुने द हिल अनलाइनले जनाएअनुसार यस्ता प्रतिबन्ध र नाकाबन्दीले यो वर्षमात्रै रुसको कूल ग्राहस्थ उत्पादन ७ प्रतिशतले ह्रास आउने छ भने रुसी अर्थतन्त्रले १४ प्रतिशतसम्मको मुद्रास्फीति व्यहोर्नुपर्नेछ । सोही अनलाइनका अनुसार व्यापार गर्ने आत्मविश्वास र लगानीकर्तामा अनिश्चितताकाका कारण देशभित्रको पुँजी बाहिर जाने र यसले त्यहाँ सम्पत्तिको मूल्यमा असर पार्ने अन्तर्राष्ट्रिय मुद्राकोषको अनुमान छ ।
प्रतिबन्धले रुसको विदेशी ऋण तिर्ने क्षमतामा पनि असर पर्ने र यसले विश्वकै वित्त बजारलाई प्रभावित बनाउने चिन्ता पनि व्यक्त हुँदै आएका छन् । रोयटर्सका अनुसार रुसले ४० अर्ब डलर बराबरका १५ अन्तर्राष्ट्रिय ऋणपत्रहरुको भुक्तानी गर्नुपर्ने छ । रुसमा अहिले डलरको सञ्चिती घट्दै गइरहेको बताइन्छ ।
रुसले युक्रेनमा आक्रमण गरेयताको पहिलो युरोबण्ड ऋणपत्रको भुक्तानी अमेरिकी डलरबाटै गरेर जोगिएको छ । यसबाहेक रुससँग १ खर्ब ३२ अर्ब डलर बराबरको सुन पनि सञ्चिती छ । तैपनि यसअघि रुसले सुन बेच्नका लागि अन्तर्राष्ट्रिय ग्राहक नभेटेको समाचार आएको थियो ।
अर्कोतर्फ युक्रेन र रुसबीचको युद्धले विश्वव्यापी अर्थतन्त्रमा पारेको नकारात्मक असरको पाटो बेग्लै छ । आक्रमणका कारण इन्धन, खाद्यान्न, जहाजी बीमा, हवाई भाडा, तेलहनका उत्पादनजस्ता वस्तुको भाउ विश्वभर बढेको छ ।
कोरोना महामारीले विश्वव्यापी आपूति व्यवस्थालाई अस्तव्यस्त बनाएर विस्तारै विश्व अर्थतन्त्रले गति लिने कोसिस गरिरहेका बेला रुसको युक्रेन युद्धले फेरि विश्व अर्थतन्त्रलाई सुस्त बनाउने चिन्ता व्यक्त हुन थालेका छन् । विज्ञहरुका अनुसार यो युद्धबाट उत्पन्न आर्थिक कठिनाइले नेपालजस्तो आयातमा निर्भर विशेषगरी विकासशील मुलुकहरुलाई धेरै असर पुर्याउने छ ।